दोलखा पहिरो अपडेट : एक बालकको मृत्यु, तीनजना बेपत्ता

दोलखा पहिरो अपडेट : एक बालकको मृत्यु, तीनजना बेपत्ता


ग्लोब नेपाल
189
Shares

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका-७ टोपाटारमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ ।

पहिरोमा तीन जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर तीन वर्षीय बालक प्रिन्स थामीको मृत्यु भएको वडा नम्बर – ७ का वडाअध्यक्ष सोनाम शेर्पाले जानकारी दिए । यस्तै पहिरोले घर पुरिँदा टोपाटारका कृष्ण मगर, उनीकी श्रीमती देव मगर र स्थानीय हरिलाल श्रेष्ठ बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहेको शेर्पाले जनाए ।

बिहीबार राती परेको भीषण वर्षाले गौरीशंकर ७ र ८ मा ३२ वटाभन्दा बढी घरमा क्षति गरेको छ । टोपाटारबाट तीन जना घाइतेको उद्धार गरिएको छ । पहिरोले टोपाटारका ७ घरमा क्षति पुगेको छ ।

पहिरोले विद्युतका पोलहरूसमेत बगाएको छ । यस्तै ग्रामीण सडक अवरुद्ध भएको छ । टोपाटार पारि गौरीशंकर गाउँपालिका- ८ खारेको सल्लेमा २ घर पहिरोले पुरेको छ । त्यहाँका २० वटाभन्दा बढी घरमा पहिरोको जोखिम भएपछि स्थानीयले घर छोडेका छन् । केही चौपाया पहिरोमा पुरिएको गौरीशंकर- ८ का वडाअध्यक्ष दावा शेर्पाले बताए ।

´घटनास्थल जाँदै छु, पहिरोले सल्ले पुग्ने झोलुङ्गे बगाएका कारण वैकल्पिक बाटो प्रयोग गर्दा समय लागेको छ,अध्यक्ष दावाले भने, ‘पहिरोले बस्तीका धेरै घर जोखिममा परेको छ, उद्धारमा कठिनाइ भएको छ । टेलिफोन सम्पर्क पनि हुन सकेको छैन।

सल्ले पुग्ने घट्टेखोलाको झोलुङ्गे पुलसमेत बाढीले क्षति पुर्‍याएका कारण उद्धारमा कठिनाइ भएको छ । उद्धारका लागि सुरक्षाकर्मी वैकल्पिक बाटोमार्फत पहिरो प्रभावित क्षेत्रमा गएपनि पुग्न सकेका छैनन् । हाल स्थानीयले उद्धार कार्य गरिरहेका छन् ।