काठमाडौं । सोमबार रातिदेखिको अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण देशैभरका मुख्य राजमार्ग प्रभावित बनेका छन् । नेपाल प्रहरीले गरेको पछिल्लो अपडेट अनुसार देशभर दर्जनौं राजमार्ग अवरुद्ध बनेका छन् ।
देशका विभिन्न १८ स्टेसनमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
नारायणगढ–मुग्लिन सडक खण्डको कालिखोलामा गएको पहिरोका कारण यो सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । यो सडक खण्ड आज बिहानैबाट बन्द भएको थियो ।
कालिगण्डकी करिडोर अहिले अवरुद्ध भएको छ । यस करिडोरको बागलुङ नगरपालिका १० गलुवामा पहिरोले सडक अवरुद्ध बनाएको छ । सिद्धार्थ राजमार्ग समेत अहिले एकतर्फी मात्र सञ्चालनमा छ । तिनहुँ गाँउपालिका पाल्पाको ड्याम साइडमा गएको पहिरोले यो सडक खण्ड प्रभावित बनेको हो ।
सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पनि अवरूद्ध भएको छ । सोमबार राति परेको वर्षाका कारण भीमदत्त राजमार्गको खानीडाडाँ र बुढीतोला क्षेत्रमा पहिरोले सडक भासिएपछि अवरूद्ध भएको हो ।
राजमार्गका विभिन्न ठाउँमा पहिरो गएको प्रहरीले जनाएको छ। प्यूठानको भालुवाङ सडक खण्ड भने अवरुद्ध भएको छ । यसको माण्डवी गाउँपालिका १ को गर्जेनी भन्ने स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको हो ।
घोराही–लमही सडकखण्ड अवरूद्ध भएको छ । घोराही-लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
पूर्वी नेपालतर्फ पाँचथरको तमोर कडिडोर अवरुद्ध बनेको छ । यस जिल्लाको फिदिम ४ मा पहिरो गएको हो । काभ्रेको वीपी राजमार्गमा समेत सडक अवरुद्ध भएको छ । काभ्रेको रोशी गाउँपालिका कालढुंगामा सडक अवरुद्ध बनेको छ । वीपी राजमार्गको सिन्धुली जिल्लाको कमेरेफाँटमा समेत सडक अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ।
मकवानपुरमा झरीका कारण पहिरो जाँदा हेटौंडालाई काठमाडौंसँग जोड्ने दुई छोटा राजमार्ग अवरूद्ध भएका छन् । पहिराका कारण कान्ति लोकपथ र मदन भण्डारीमार्ग अवरूद्ध भएको प्रहरीले जनाएको छ ।
गए राति मकवानपुरको भीमफेदी गाउँपालिका-२ ज्यालटारस्थित मदन भण्डारीमार्ग हेटौंडा-भैसे-भीमफेदी-कुलेखानी-काठमाडौं सडक खण्डमा पहिराका कारण बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नुवाकोटको पासाङल्हामु राजमार्ग समेत अवरुद्ध भएको छ । यस जिल्लाको कककी निगालेमा गएको पहिरोले सडक अवरुद्ध बनाएको नेपाल प्रहरीले जनाएको छ ।
म्याग्दीको बेनी–जोमसोम सडक खण्ड समेत अवरुद्ध भएको छ । यस जिल्लाको रघुगंगास्थित बैसरीमा सडक अवरुद्ध भएको प्रहरीको भनाइ छ । डडेलधुराको बतुडर–जोगबुढा भित्रि सडक खण्ड समेत आज अवरुद्ध भएको छ । यस जिल्लाको आलितालस्थित सुनखोलामा सडक अवरुद्ध भएको हो ।
प्रतिक्रिया