काठमाडौं । काठमाडौं महानगरपालिकाको टोली बिहीबार डोजर लिएर कपनको साततले चोक पुगेपछि तनाव उत्पन्न भएको छ ।
काठमाडौं महानगरपालिका ७ र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० को सिमानामा रहेको साततले चोक नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको पाइएकाले त्यो भत्काउन आएको महानगर प्रहरीले बताएकाे छ ।
बुढानीलकण्ठ र काठमाडौं महानगरको सीमा क्षेत्रको खोलामाथि राखेको स्ल्याब हटाउन महानगरले डोजर चलाएपछि विवाद भएको हो । बुढानीलकण्ठ क्षेत्रमा महानगरले डोजर चलाएपछि स्थानीयले विरोध गरेका हुन् ।
विवादपछि अहिले काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका र स्थानीयबासिन्दाबीच छलफल भइरहेको बताइएकाे छ ।
महानगरको नगर प्रहरी र स्थानीयबीच झडप समेत भएको स्थानीयले बताएका छन् । उक्त क्षेत्रमा सानो पानी पर्दा समेत डुबान हुने गरेको छ । खोलाको तलतर्फ ह्युम पाइप राखिएको छ । जसमा खोला साँघुरिएपछि सानो पानी पर्दासमेत आसपासका बासिन्दा डुबानको समस्या बेहोर्न बाध्य छन् ।
प्रतिक्रिया