आदिवासी र खोला

आदिवासी र खोला



पोहोर साल मेरै घर सिरानको
मुहानकै छातिमा
बडेमानको बनाइयो सिमेन्टको ट्यान्की
खोलामा एक बुँद छोडिएन पानी
पानी साँच्नको लागि लगाइयो ट्याङकिमा बिर्को
त्यसपछी हो मृगका हुलले पानी खोज्दै तिर्खा मेट्न बसाई सरेका ।

जो रमाइलो मानेर यता उता कुदिरहने छिमेकिजस्तै
जलचर जीवहरू थिए
ती सबैले बिस्तारै बस्ती छाडेका हुन् ।

विकासको नाममा
केही वर्ष पश्चात गाउँ ढाकेर सडक बिस्तार गरियो
मानव बस्ती बढाइयो
त्यसपछि नै हो
सुसेली खेल्दै बग्ने
खिम्ती खोला सुकेको
कलकल बग्ने यो खोलाको
मिठो धूनको सट्टामा
रातभरि भट्टिमा हल्लाघोर झगडा सुन्नु परेको

खोला फगत बगर भयो ।
बगरमा डोजर गुडे
तर माझीहरूको जीवन डोजरमा अल्झिन सकेन
त्यसैकारण जेठो माझीले धुरी भाँचेर
बसाइँ सरेको हो ।

भर्खरै सुन्दै छु-
लिखु खोला छैन अरे
लिखुको अनुपम सौन्दर्य छैन अरे

अब बालुवा खनेर मान्छेका आयु कति लामो टिक्ने हो?
लिखुको कपुरथान उधिनेर
कतिन्जेल उधारोमा जिन्दगी धकेल्ने हो ?

खाली खाली भए रे
टाँगा र धक आफाल्नेहरू
रित्तो रित्तो भए रे
फुर्लुङ् भरेर निन्द्रा फकाउनेहरू ।

सरङमा- पेरुङ्गो रित्तो भयो होला
दलिन- ध्वाँसोले मात्र भरियो होला
भोकाएका नानीहरूले
अब के खान्छन् होला नि?

तितेका हुल हराए रे
तिते हराएपछि
तितेको स्वाद अब कहाँ खोज्ने होला ?

खोपामा सगुन आएन
पाखा, खर्क र भुमे डांडामा
लिखुको धुन आएन
देउरालीमा फूलपाती आएन ।

बगरमाथिको फलामे पुलमा
अब मान्छे हिड्छन् कि तिनका हंस गुड्छ?
लिखुको बेग र निलो दह हेर्न खोज्ने आँखाले
डोजरको पहेंलो रङ र त्यसले बनाएको खाल्डो कसरी हेर्लान्?

ए,आधुनिक मान्छे!
आधुनिकताका नाममा
आफ्नै शरीर चिथोरेर
कसका लागि बहादुरी देखाउँछौ?
वारिपारी आदिम गाउँको
सम्पदाको एउटा सिंङ्गार मेटाएर
कंकृटको सहर बनाउँदै
कुन निर्जीव सपनामा रमाउने भयौ?

म आदिवासी
मेरो स्वर मलिन भएर होला या मलाई सुधो देखेर होला
निरन्तर ज्यादति बढाइरहेछौ

अब सुन!
वर्षौ लिखुको कञ्चन पानी पिउने
त्यो रैथाने निगालेले तिर्खा मेट्न
पानीको सट्टामा
मान्छेको रगत पिउन सिक्यो भने?
वर्षेनी बेंशीमा गोठभर्ने सोल्टीनीले
गर्मीमा पौडी खेल्न दहको सट्टामा
प्रेमीको आँशुमा पौडिन सिकिन् भने?
अचम्ममा नपर्नू
नगुहार्नू यो आदिवासीलाई
तिमीले नै बनाएको चिल्ला सडकहरूमा
तिम्रो मृत्यु दौडिरहेको देख्यौ भने,
मूल सुकाएर बनाएको ट्याङकिको बिर्कोले तिमीलाई नै नि:सन्तान बनायो भने
नगुहार्नू यो आदिवासीलाई
मसँग त मात्र
प्रकृतिलाई प्रेम र स्याहार गर्ने हृदय छ

माफ गर आधुनिक मान्छे !
म जान्दिनँ-
अहंकारको रापले जलिरहेका मानिसलाई बचाउन ।

(आदिवासी दिवसको हार्दिक शुभकामना)