अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले आगामी २०२३–२५ कार्यकालको लागि एनआरएनए आइसीसीको महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
शनिबार जूममार्फत आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सुवेदीले एनसीसी (राष्ट्रिय समन्वय परिषद) हरुलाई बलियो बनाउन, केन्द्रीय कार्यालयलाई व्यवस्थित र प्रविधि मैत्री बनाउन तथा एनआरएन नागरिकताको कार्यान्वयनजस्ता मुद्दालाई अगाडी बढाउन आफुले उम्मेदवारी गरेको बताए।
पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिंदै सुवेदीले आफु महत्वाकांक्षी भएर हैन, २०२१–२३ कार्यकालमा एनसीसी अमेरिकामा आफूले गरेको कामको आधारमा साथीहरुको सल्लाहअनुसार महासचिव पदमा उम्मेदवारी दिएको बताए। उनले संस्थाबाट केही लिन हैन, संस्थालाई केही दिनको लागि आफू अगाडी आएको बताउँदै संस्थालाई बलियो बनाउन आफूले इमान्दारीपूर्वक काम गर्ने बताए।
उनले काठमाडौँमा हुन गइरहेको ११ औं विश्व अधिवेशनलाई एकताको अधिवेशन बनाउन पनि आग्रह गरे। संसारभरि रहेका गैर आवासीय नेपालीहरुको सीप, पूँजी, अनुभव र नेटवर्क नेपाल र नेपालीको उन्नतिका लागि परिचालन गर्न, दोश्रो पुस्ताका नेपालीहरुलाई एनआरएन संजालसंग जोड्न र नेपालमा लगानी तथा पर्यटन प्रवर्धन गर्न आफुले उम्मेदवारी दिएको उनले बताए।
महासचिव पदका उम्मेदवार सुवेदीले वंशजको आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरता नै आफ्नो प्रमुख माग रहेको बताउँदै तेश्रो पुस्ता पछि पनि एनआरएन नागरिकता निरन्तर गर्न आफुले आवाज उठाउने बताए। एक प्रश्नको जवाफमा सुवेदीले नेपालमा रुग्ण अवस्थामा रहेको एक होटललाई पुनः संचालन गरी सैयौं रोजगारी सिर्जना गर्ने उद्देश्यले आफु लगायत साथीहरुले लगानी गरेको र आफ्नो व्यवसायको प्रवर्द्धनका लागि एनआरएनएको लोगोको दुरूपयोग नगर्ने र गर्न पनि नदिने बताए।
प्रतिक्रिया