काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा नेतृत्वको क्षमता र कार्यशैली बारे प्रश्न उठ्न थालेको छ । निकै अगाडीदेखि असन्तुष्टहरुको चलखेल शुरु भएता पनि पछिल्लो समय बैठककै रुपमा असन्तुष्टि प्रकट भएको छ।
राप्रपाका संस्थापक नेता पुर्ब प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले भेटघाटको रुपमा बोलाएको बैठकमा नेतृत्वको आलोचना भएको हो । निर्देशन समितिमा रहेकाहरुलाई बोलाईएको बैठकमा महामन्त्री धवलशमसेर राणाले यथास्थितिबाट पार्टी अघि बढ्न नसक्ने दाबी गरेका छन् ।
विधि मिचेर मनपरी र स्वेच्छाचारी ढङ्गले नेतृत्व अघि बढेकोले यो स्विकार्य हुन नसक्ने राणाको भनाई थियो। निर्देशन समितिका अध्यक्ष प्रकाशचन्द्र लोहनी, हरिबहादुर बस्नेत, नबराज सुबेदीले पनि पार्टी विधि सम्मत ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिदै त्यसो हुन नसके समस्या उत्पन्न हुन सक्ने तर्फ सचेत गराएका थिए ।
पुर्ब प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले धेरै साथीहरुको गुनासो भएकोले पार्टीमा किन सुनवाइ भएन भनेर आफू चिन्तित भएको भनाई राखेका थिए । बिधि बिधान भन्दा पनि राजनीतिक र ब्यबहारिक रुपमा केही निर्णय भएकोले प्रश्न उठेको हुन सक्ने भन्दै सल्लाहकार समितिका अध्यक्ष निरन्जन थापाले बैठकमा असन्तुष्टिलाई थप चर्किन दिएका थिएनन् ।
बैठकमा उपस्थित दिपक बोहरा, उद्धब पौडेल, जयन्त चन्द, निलकन्ठ काफ्ले लगायतले बोलेनन् भने रबिन्द्र मिश्र र राजेन्द्र गुरुङको धारणा मध्यमार्गी किसिमको थियो । बैठकमा आमन्त्रित पशुपतिशमशेर राणा, बुद्धिमान तामाङ, बिक्रम पाण्डे, भुवन पाठक, कुन्ति शाही अनुपस्थित थिए ।
पशुपतिशमशेर राणा पुस्तक बिमोचन कार्यक्रममा ब्यस्त रहेको ,बिक्रम पाण्डेको आँखामा समस्या देखिएको, कुन्ती शाही बिदेश भ्रमणमा रहेको ,भुवन पाठक बागमती प्रदेश सभामुखको जिम्मेवारले गर्दा अनुपस्थित भएको जानकारी दिईएको थियो ।


प्रतिक्रिया