एनआरएनए नागरिकता प्राप्ति सवालमा सरकारले अप्ठ्याराे सिर्जना नगर्ने

एनआरएनए नागरिकता प्राप्ति सवालमा सरकारले अप्ठ्याराे सिर्जना नगर्ने


ग्लोब नेपाल
135
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर संघको विश्व सम्मेलनको लागि निमन्त्रणा दिएको छ । संघका कार्यकारी अध्यक्ष डा केसीले आगामी अक्टोबरमा हुने ११ औँ महाधिवेशन तथा विश्व सम्मेलन, सोही अवसरमा हुने विश्व ज्ञान सम्मेलन र युवा तथा महिला सम्मेलनको विषयमा जानकारी गराएका थिए ।

प्रधानमन्त्री दाहालले विश्व सम्मेलनको सफल आयोजनाका लागि शुभकामना दिँदै आफू पनि उपस्थित हुने प्रतिबद्धता व्यक्त गरे । भेटमा संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता प्राप्तिको बाटो खुलिसकेको र नियमावली निर्माणको चरणमा रहेकोले त्यसलाई सहज र एनआरएनमैत्री बनाउन प्रधानमन्त्री तहबाटै पहलकदमी लिइदिन अनुरोध गरे ।

जवाफमा प्रधानमन्त्री दाहालले गैरआवासीय नेपाली नागरिकताको सहज कार्यान्वयनमा सरकार सकारात्मक रहेको भन्दै केही अप्ठ्यारो देखिए सुल्झाउँदै अघि बढ्ने बताए ।
यस्तै संघका उपाध्यक्ष आर के शर्माले इराक र कुवेतमा पासपोर्ट नवीकरणलगायत नेपालीले व्यहोर्नुपरेको अन्य समस्या सम्बोधनका लागि कुटनीतिक पहलका लागि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए । प्रधानमन्त्री दाहालले त्यसका लागि पछिल्लो अवस्था मूल्यांकन गरी कूटनीतिक पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

फरक प्रसंगमा प्रधानमन्त्री दाहालले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यान्वयनमा गैरआवासीय नेपाली संघले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा उक्त योजनालाई अझ बृहत रुपमा अघि बढाउन आग्रह गरे । भेटका क्रममा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र डी.बी क्षेत्री, महासचिव केशव पौडेल, एनसीसी पूर्व मानार्थ परिषद् सदस्य, सनी वली, पूर्व सल्लाहकार सुरेन्द्र श्रेष्ठ, संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत लगायतको उपस्थिति थियो ।