काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने विश्व सम्मेलन आयोजनाका लागि मन्त्रीस्तरीय उच्चस्तरीय आयोजक समिति गठनका लागि निर्देशन दिएका छन् ।
संघका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बैठकमा संघका अध्यक्ष डा केसीले आगामी अक्टोबरमा हुने विश्व सम्मेलन आयोजनाका लागि नेपाल सरकार, सम्बन्धित मन्त्रालय, सरकारी तथा नीजि संघसंस्थासहितको उच्चस्तरीय आयोजक समिति गठनका लागि अनुरोध गरेका थिए ।
लगत्तै परराष्ट्रमन्त्री एनपी साउदले उच्चस्तरीय आयोजक समिति बनाउन आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित महाशाखालाई निर्देशन दिएका हुन् । गैरआवासीय नेपाली संघको सम्मेलनमा सरकारको तर्फबाट परराष्ट्रमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति हुने परम्परा छ ।
भेटका क्रममा कार्यकारी अध्यक्ष केसीसहित उपाध्यक्ष डिबी क्षेत्री, यूरोप क्षेत्रीय संयोजक सन्तोष भट्टराई, एनआरएनए थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेत, पूवं सल्लाहकार टी बि कार्की, संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत, एनआरएन डेभलप्मेन्ट फण्डका सिइओ अनलराज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया