थुनामा भएका १८ प्रतिवादीको बयान अदालतमा आजबाट

थुनामा भएका १८ प्रतिवादीको बयान अदालतमा आजबाट



काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा प्रहरी हिरासतमा रहेका १८ जनाको बयान आजबाट अदालतमा हुँदैछ । आइतबार जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी र १८ अर्ब बिगो दाबी गरेर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

मृत्यु भएका २१ जनालाई पनि वकिल कार्यालयले जग्गा फिर्ता गर्ने प्रयोजनका लागी प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । जग्गा प्रकरणमा १८ जना थुनामा छन् । थुनामा भएकाहरूको बयान सकिएपछि थुनछेक बहस सुरु हुन्छ । १८ जना बाहेकका प्रतिवादीलाई फरार सूचीमा छन् ।

बालुवाटार स्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिना भएको ब्यूरोको अनुसन्धान निष्कर्ष छ । सीआईबीले पूर्व उप–प्रधानमन्त्री विजयकुमार गच्छेदार सहित ४ जना पूर्वमन्त्रीहरुलाई प्रतिवादी बनाउन राय दिएको थियो । प्रहरीको राय अनुसार ४ जना पूर्वमन्त्रीलाई प्रतिवादी कायम गरिएको छ । सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सह–सचिव सुशील वैद्यलाई पनि सरकारी वकिल कार्यालयले प्रतिवादी बनाएको छ ।

ललिता निवासको जग्गाबारे २०४९ सालदेखि २०६९ सालसम्म विभिन्न सरकारी निकायबाट निर्णय भएर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको थियो । ती सबै काम संगठित अपराधसम्बन्धी कानुन जारी हुनुभन्दा पहिले नै भएकाले संगठित अपराधको माग दाबी औचित्ययुक्त नहुने भन्दै सरकारी वकिलको कार्यालयले किर्तेको अभियोगमा मुद्दा दर्ता गरेको छ ।