रुपन्देही । बुटवलमा जारी एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि आज बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु हुँदैछ । मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले निर्वाचन कमिटीले आवश्यक तयारी गरेको ठिक ९ बजे मतदान सुरु गर्ने बताए ।
यसअघि सोमबार रातिदेखि मतदान गर्ने भने पनि अन्तिम समयमा आन्तरिक तयारी नपुगेको र अध्यक्ष मण्डलले उज्यालोमा मतदान गर्न आग्रह गरेकाले समय सारेको हो । दुईवटा प्यानल बनाएर नेताहरु चुनावी मैदानमा उत्रिएका छन् । सर्वसम्मत हुन नसकेपछि निर्वाचन हुने भएको हो ।
सोमबार साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । प्रदेश अध्यक्षमा हरि रिजाल र राधाकृष्ण कँडेल चुनावी मैदानमा छन् । उनीहरूबीच सहमति हुन नसकेपछि चुनावबाट नयाँ नेतृत्व तय गर्न लागिएको हो ।
प्युठानका रिजाललाई महासचिव शंकर पोखरेल र पाल्पाका कँडेललाई उपाध्यक्ष विष्णु पौडेलको समर्थन छ । आगामी नेतृत्वका लागि पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये आठ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
पाँच पदाधिकारीमध्ये चारवटा पदमा निर्वाचन हुँदैछ । यसबाहेक भुगोलतर्फ रुपन्देही, गुल्मी, बांके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान हुनेछ ।
प्रतिक्रिया