रुपन्देही । बुटवलमा जारी नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मत मतले पराजित गर्दै कंडेल विजयी भएका हुन् ।
विजयी कंडेलले ४७९ मत प्राप्त गरेका थिए भने रिजालले ४७७ मत प्राप्त गरेका हुन् । पदाधिकारीमा एक उपसचिवबाहेक अरु सबै पदमा राधाकृष्ण कंडेलकै प्यानलका उम्मेदवारहरु विजयी भएका छन् । कंडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाल महासचिव शंकर पोखरेल निकटका भनेर प्रचार गरिएको थियो ।
सचिवमा लक्ष्मण आचार्यसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् । आचार्य पनि कंडेल पक्षका हुन् । भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो ।
उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, उपसचिवमा रोल्पाका पूर्ण बुढामगर विजयी भए। महिला उपसचिवमा लीला राना विजयी भए । बुढामगर रिजाल प्यानलकाबाट चुनाव लडेका थिए भने बाँकी सबै कंडेल प्यानलबाट चुनाव लडेका थिए ।
यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् । एक हजार ५ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो । ४० जना प्रतिनिधि मतदानमा उपस्थित भएका थिएनन् ।
प्रतिक्रिया