एनआरएनए निर्वाचन: अध्यक्ष पदमा महेश श्रेष्ठको औपचारिक उमेद्वारी घोषणा हुँदै

एनआरएनए निर्वाचन: अध्यक्ष पदमा महेश श्रेष्ठको औपचारिक उमेद्वारी घोषणा हुँदै


ग्लोब नेपाल
621
Shares

काठमाडौं। गैर आवासीय नेपाली संघ,अन्तर्राष्ट्रीय समन्वय परिषद्को नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष महेश श्रेष्ठले अध्यक्ष पदमा आज औपचारिक घोषणा गर्दैछन्। अध्यक्ष पदको उमेद्वारी घोषणासँगै उनले आफ्नो दुई वर्षे कार्यकालको योजना समेत सार्वजनिक गर्दैछन्।

एनआरएनको नयाँ निर्वाचन संघको ११ औं महाधिवेशन अक्टुबर १७ देखि २० सम्म राजधानीमा सम्पन्न हुँदैछ। महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ। जसका लागि विश्वका विभिन्न देशबाट चार हजारभन्दा बढी गैर आवासीय नेपालीहरुले प्रतिनिधिको रुपमा नयाँ नेतृत्व चयनमा मतदान गर्नेछन्।

अध्यक्षको उमेद्वारी घोषणा गर्न लागेका वर्तमान उपाध्यक्ष श्रेष्ठले संघको आसन्न ११ औं महाधिवेशन एकता र सहमतिको अधिवेशन हुने बताएका छन् । समुन्नत नेपाल,सम्मानित गैर आवासीय नेपाली भन्ने मूल नारा तय गरेर नेतृत्व लिन अघि बढेका श्रेष्ठ लामो समयदेखि एनआरएन अभियानमा प्रत्यक्ष आवद्ध छन्।

आइसीसी सदस्य हुँदै सन् २०१९-२१ मा कोषाध्यक्ष र २०२१-२३ मा संघको उपाध्यक्ष रहेका छन्। जापानमा बसेर व्यवसाय गर्दै आएका श्रेष्ठले नेपालमा मनी ट्रान्सफर सेवा र अन्य व्यवसायमा लगानी गरेका छन्।

नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहिसकेका श्रेष्ठ नेपाली जनसम्पर्क समिति,जापानका पूर्व अध्यक्ष समेत हुन्। अध्यक्षमा श्रेष्ठको उमेद्वारीसँगै उनको समूहमा रहने अन्य पदका उमेदवारहरुको पनि केही नामहरु आज नै सार्वजनिक गर्नेगरी तयारी भैरहेको बुझिएको छ।