नारी स्वतन्त्रताको पर्याय तीज पर्व

नारी स्वतन्त्रताको पर्याय तीज पर्व



धार्मिक मान्यता अनुसार नै भन्ने हो भने पनि यो पर्व प्राचीन समयदेखि नारी विद्रोहको पर्व थियो । यो पर्वसँग जोडिएको धार्मिक पक्षको कुरा गर्ने हो भने तत्कालीन समयमा पार्वतीले आफ्नो अधिकारको लागि अठोट गरिन् । भलै त्यो अठोट पुजापाठको थियो, व्रतको थियो तर सुक्ष्म रुपमा त्यो बहानारुपी अठोटबाट उनले मन परेको श्रीमान रोजेकी थिइन् ।

नीराहार व्रत त्यस अभियानको अनसन समान थियो । यसरी हेर्दा पार्वतीले विद्रोहमार्फत नै तीज संस्कृतिको विकास गरेकी थिइन् भन्न सकिन्छ । उनले आफूले मन पराएको वर शिवका लागि व्रत रुपी अनसन बसेकी थिइन् । निराहार अनसन पश्चात नै उनले शिवलाई पतिको रुपमा पाएकी हुन् ।

उनलाई पत्नीको रुपमा शिवले स्विकार्ने भनेपछि साथीसंगी भेला गराई नाचगान गर्छिन् । उनीहरुको समुहले गाउँदै रमाईलो गर्दा विष्णु भगवान पनि खुशी हुदै ताली बजाएको भन्ने भनाइ छ । भगवान हरिले पनि ताली बजाएको हुनाले हरितालिका भयो भन्ने मान्यता रहेको छ । संस्कृतमा तीजलाई हरितालिका भन्ने गरिन्छ ।

प्राचीनकालदेखि नै नारी विद्रोहबाट शुरु भएको यस पर्व पन्चायतकालसम्म पुग्दा हाम्रा आमा, हजुरआमाहरुले घरको पिडा बेदनाको पोको खोल्दै स्वतन्त्रताको लागि आवाज निकाल्न सक्ने भएका थिए ।

सानीमा सानी दारको ठेकी
दुवैमाना दही जाने
घरको दुःख देख्नुहुन्न बाबा
जा घर भने भैजाने

यस्ता पिडा र वेदना भरिएका गीत गाउँदथे । घरका पिडा र वेदनाका साथसाथै सामाजिक सरोकारका विषयमा पनि गीत गाउँथे उनीहरुले ।

विश्व इतिहासमा महिलाले मात्र मनाउने चाड तीज पर्व र तीज गीत महिला स्वतन्त्रताको लागि महान पाटो रहेको छ । आफू नपेढेकी र पढेको श्रीमान बीच हुने तत्कालीन परिवेशलाई उनीहरुले गीतमार्फत् यसरी चित्रण गर्दथे-

अंग्रेजीमा भन्दो रहिछ पानीलाई वाटर
नबुझेर दिएँ मैले काचो कटर ।

अंग्रेजीमा भन्दो रहिछ बाबालाई फादर
नबुझेर देखाईदिएँ रुखको बाँदर ।

विगतमा नेपाली महिलाले पढ्न नपाउँदाको परिवेश यसरी गीतमार्फत् नै पस्कन्थे । उनीहरुले तीज पर्वलाई समाज रुपान्तरणको माध्यमका रुपमा प्रयोग गर्न थाले । तीज पर्वमा गाइँने गीतहरुले समाज रुपान्तरणको आवाज बोले । असमनताको आवाजहरु बुलन्द पार्न सके । विस्तारै छोरीहरुले पनि पढ्ने अवसर पाउन थाले ।

धेरै महिला समुदायको शिक्षा क्षेत्रमा पहुँच हुन पुग्यो । उनीहरुको पहुचँ टोलदेखि राज्यको कानुन निमार्णको परिवेशसम्म पुग्यो । समाजमा रहेका विभेदित कानुनहरु संशोधन भए । राज्यका सबै तह र तप्कामा महिला समुदायलाई आरक्षणको व्यवस्था गरियो । विशेषाधिकारका रुपमा आएका यस्ता अवसरहरुले महिला सशक्त हुनसके । उनीहरुले देशको शासन व्यवस्थाका बारेमा पनि तीज गीतमार्फत् आवाज बुलन्द पारेका थिए ।

देश बनाउन ग’का नेता कुर्सीमात्र नताक
जनताको बलिदानलाई सानो नठान

मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि पनि उनीहरुले तीज गीत माध्यम बनाएका थिए । पन्चायत व्यवस्थाको विपक्षमा बोल्न नपाइने त्यो बेला तीजका गीतमार्फत् पनि महिलावर्गले तत्कालीन शासन व्यवस्थाको विरोध गर्दथे । जसको फलस्वरुप नेपालमा नारी आन्दोलन शशक्त हुन सक्यो । मुलुकमा प्रजातन्त्र र लोकतन्त्र पुर्नवहाली पनि भयो । राज्यका तह र तप्कामा महिलाको प्रतिनिधित्वको लागि तीज पर्वको पनि भूमिका रहेको पक्कै छ ।

उनीहरुमा आर्थिक सशक्तता थपिदै गयो । आफ्ना घरमा भएका हिसांका घटनाहरु सजिलै संघसस्थाका प्रतिनिधीहरुलाई भन्न सक्ने भए । जसको प्रभाव चाडपर्व मनाउने शैलीमा पनि परेको छ ।

केही वर्षयता माइती र घर दुवैमा तीज पर्व मौलाउन पाएको छ । माइतीजानकै लागि तीज कुरेर बस्ने गर्दैनन् । घरकाले नि माइती नआएसम्म माइत नपठाउने भन्ने छैन । वर्तमानमा सुचना र प्रविधिको कारण तीजमा चेली लिन जानैपर्ने भन्ने पनि छैन । त्यसो त सामाजिक सञ्जालबाट नै तीजपर्वको निम्ता दिने गरिन्छ । वर्तमानमा माइतीका नन्द अमाजु, घरका भाउजु, बुहारी सबै मिलेर तीज पर्व मनाउने प्रचलन झाँगिँदै छ ।

त्यसो त संघसंस्थाले पनि तीजपर्वको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् । संघसंस्थाले महिला समुदाय जति सबैलाई माइतीको आभाष गराउने कार्यक्रम गरेका छन् । सामुदायिक, नीजि विद्यालय, कलेज, टोल विकास संस्था, वडा तहदेखि केन्द्रीय तहसम्मका दलका विभिन्न समिति, सहकारी लगायत बैंकहरु सबैले तीज विशेष कार्यक्रम गरी महिला समुदाय जति सबैको माइती बनेका छन् ।

पछिल्ला समयमा समाज हुने गरेका कार्यक्रमले महिलाबीच आत्मियता थपेको छ, उनीहरुले सुखदुख साट्ने, रमाउने संस्कृतिको विकास भएको छ । वर्तमानमा सांघुरिदै गएको परिवारबीच नाता जोड्न सफल छ यो पर्व । एक, दुई सन्तान, ती सन्तान पनि विदेशमा रहने वर्तमान परिवेशमा यस्ता सामुहिक कार्यक्रमले समाजमा सकारात्मक सन्देश छरेको छ । तीज विशेष कार्यक्रममा बाटो, पुल, गुम्बा, मठमन्दिर, सभाहललगायत विकास निर्माणका कुरादेखि स्वस्थ जीवनशैली निर्माणसम्मका सामाजिक सरोकारका विषय वस्तुहरु पस्किने माध्यम बनेको छ । त्यसो त किशोर किशोरीहरु बीच पनि भाइचाराको सम्बन्ध गाँस्न सकेको छ यस पर्वले ।

सबै क्षेत्रका महिला, सबै महिला, सबैको चेली बनेका छन् । या भनौ मुलुकमा रहेका ५१ प्रतिशत भन्दा बढी महिला समुदाय सबै नै तीज पर्वका अवसरमा चेली बनेका छन् । चेलीको सम्मान सँधै हुन सकोस् । सबै चेलीले पनि आफ्नो कर्तव्य र अधिकारको ख्याल गरि सामाजिक सद्भाव र सहिष्णुता कायम राख्न सफल होउन्, हार्दिक शुभकामना !

(अर्याल पत्रकार महासंघको सचिव हुन् )