बैतडीको झुलाघाट नाका बन्द

बैतडीको झुलाघाट नाका बन्द



बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बन्द गरिएको छ । महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि अर्को सूचना जारी नभएसम्म नाका बन्द गरिएको हो ।

बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार पुलको भारतीय सिमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले सीमा नाकामा आवागमन बन्द गरिएको हो । यसअघि मर्मतकै लागि भनेर सोमवार पनि आवागमन बन्द गरिएको थियो। तर, मर्मतको काम नसकिएको भन्दै मङ्गलवारदेखि अर्को सूचना जारी नभएसम्मका लागि आवागमन स्थगन गरिएको हो ।

अर्को सूचना जारी नहुँदासम्मका लागि दैनिक बिहान ८ः४५ देखि दिउँसो १ः१५ बजेसम्म र दिउँसो २:१५ बजेदेखि पुनः ४:१५ बजेसम्म पुलमा आवागमन बन्द हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेको हो । यसअघि सीमा क्षेत्रमा नेपाल–भारत समन्वय बैठक बसेको बेला पुल मर्मत गर्ने विषयमा दुवै पक्षका अधिकारीबिच सहमति भएको थियो । झुलाघाट नाकामा इष्ट इन्डिया कम्पनीले करिब डेढ सय वर्ष अगाडि निर्माण गरेको झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरिएको छ । पुल जीर्ण भएकाले बेलाबेलामा मर्मत गर्ने गरिएको छ । यसअघि गत असारमा पनि पुल मर्मत गरिएको थियो ।

तत्कालका लागि काम दिने गरी मर्मत हुने पुलमा जोखिम भने कायमै छ । पुरानो काठको पुल भारतीय पक्षले बेला–बेला काम चलाउको लागि मर्मत गरे पनि पूर्णरूपले मर्मत हुन सकेको छैन । पुल मर्मत नहुँदा सयौँ मान्छे दैनिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

झुलाघाट नाका सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रूपमा चिनिन्छ । झुलाघाटस्थित महाकाली नदीमा पक्की पुल नहुँदा जीर्ण पुलबाटै आवतजावत गर्ने गरिएको छ ।