स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टिम, बाजागाजासहित स्वागत

स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टिम, बाजागाजासहित स्वागत



काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी नेपाली पुरुष क्रिकेट टोली आज स्वदेश फकिएको छ ।

मंगलबार खेलिएको क्वार्टरफाइनलमा भारतले नेपाललाई २३ रनले हराएको थियो । सो हारसँगै एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त भएको हो ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष स्वागत गरिएको थियो । नेपाल प्रहरीले टीमकाे स्वागत गर्न बाजागाजासमेत व्यवस्था गरेको थियो ।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएपनि खेल राम्रो भएको बताए । अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको उनले सुनाए ।

दीपेन्द्रसिंह ऐरीले मंगोलियाविरुद्धको खेलमा ९ बलमा अर्धसतक बनाएर दुर्लभ विश्वकिर्तिमान राखेका थिए । सञ्चारकर्मीहरुसँग कुरा गर्दै दीपेन्द्रले आफू रेकर्ड बनाउने सोचेर क्रिजमा नगएको तर, खेल्दाखेल्दै बनेको भन्दै खुशी व्यक्त गरे ।

उनले भने, ‘विश्वकीर्तिमान भनेपछि खुशी त लागिहाल्छ । तर म रेकर्ड नै बनाउँछु भनेर गएको थिइनँ । ६ वटा छक्का भएपछि चाहीँ वल्र्ड रेकर्ड बन्न सक्छ भन्ने दिमागमा आएको थियो ।’

आफ्नो किर्तिमानमा सिंगै टिमले खुशी मनाएको र बधाइ साटासाट गरेको उनले बताए । भारतसँगको खेलमा पनि उनले लगातार तीन छक्का हानेका थिए ।