काठमाडौं । इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीले छिटोभन्दा छिटो उद्दार गरिदिन सरकारसँग आग्रह गरेका छन् । १० जना साथी गुमाएका सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थीहरूले उद्धार गरिदिन आग्रह गरेका हुन् ।
उनीहरुले बंकरबाट एक भिडियो सन्देशमार्फत् यस्तो आग्रह गरेका हुन् । भिडियोमा विद्यार्थी विपिन सुवेदीले भनेका छन्, “मृत्यु भएका १० जनाको हारगुहार सम्झिरहेका छौँ । हामी बंकरमा पाँच जना छौँ । घरकालाई पीडा हुन्छ भनेर भिडियो नबनाउने भनेका थियौँ । तर अहिले घरभन्दा माथि उठेर बनायौँ । हामी जहाँ बसेका छौँ यो बंकर हो । तीनदिन भयो यहाँ बसेको । दूतावासले केही गर्छ कि भनेर पर्खिएर बसेका छौँ । बंकरमा पनि मिसाइल खस्छ कि भन्ने अवस्था छ । १० जना गुमाइसक्यौँ । १० जनाले गरेको हारगुहार याद आइरहेको छ । बंकरमा त बचेका छौ भन्ने भएको होला । हामीलाई पनि क्रुरतापूर्वक मार्यो भने …।”
बंकरभित्र रहँदा कुन बेला आतंकवादीहरू आएर मार्ने हो भन्नेमा कुनै टुङ्गो नरहेको उनको भनाइ छ । ४९ जनामा १० जना साथीहरू गुमाइसकेको भन्दै अब आफूहरूको समेत त्यस्तै अवस्था हुने हो कि भन्नेमा रहेको बताए ।
‘४९ जनामा १० जना त गुमाइसक्यौँ । अझै पनि जति बचेका छौँ । त्यतिलाई उद्धार गरिदिनुहोस् । देश फर्किएर कृषि क्षेत्रमा हामी केही न केही गर्छौ होला । हामीलाई मिटिङ बसिरहेको छ । उद्धारको लागि पहल गर्दैछौं भनेर भन्ने काम मात्र नगर्दिनुहोस् । तपाईँहरू जे जस्तो गरेपछि हामीलाई उद्धार गरिदिनुहोस्’ उनले भने ।
आज दिनभरीमा उद्धार हुन्छ कि भन्ने आशले यो भिडियो बनाएको उनको भनाइ छ ।
त्यसैगरी, एक विद्यार्थीले उद्धारको अपिल गर्दै प्रधानमन्त्री प्रचण्डलाई पत्र लेखेका छन् । अन्नपुर्ण गाउँपालिका-२ कास्की घर भई हाल इजरायलमा फसेका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण बनाइदिने आग्रह गरेका हुन् ।
कृषि वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका भण्डारीले लेखेका छन्, ‘अबको हाम्रो आशा पनि तपाईं नै हो, भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस् , हामी देशमा नै रमाउने छौं ।’
सरकारले उद्धार गर्छ भन्ने विश्वासमा आफूहरूको सास रोकिएको उल्लेख गर्दै उनले तत्काल उद्धार गरिदिन आग्रह गरेका छन् ।
यता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णय गर्न मन्त्रिपरिषदको विशेष बैठक आह्वान गरेका छन् ।
बैठक सोमबार अपराह्न ४ बजे सिंहदरबारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्री प्रचण्डले बेलुका ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक बोलाएका छन् ।
प्रतिक्रिया