इरानविरुद्ध नेपाल २७४ रनले विजयी

इरानविरुद्ध नेपाल २७४ रनले विजयी



काठमाडौं । यू-१९ एसीसी प्रिमियर कपमा इरानमाथि २७४ रनको फराकिलो जित निकाल्दै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको छ । वाईएसडी (यूकेएम क्रिकेट ओभल, बाङ्गीमा भएको खेलमा इरानलाई ३०.४ ओभरमा ७९ रनमा अलआउट गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुँदै ३५३ रन बनाएको थियो । इरानका अमिर खोर्सान्दले ३७, सबेर इब्राहिमिपोरले ११ रन बनाए । यसबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

इरानलाई सस्तैमा समेट्न नेपालका दीपेश कँडेल र सवास भण्डारीले समान तीन विकेट लिए । सात ओभर बलिङ गरेका दीपेशले चार रन र ८.५ ओभर बलिङ गरेका सुवासले ६ रन खर्चिए । यस्तै, हेमन्त धामी र आकाश चन्दले समान दुई विकेट लिए ।

कप्तान देव खनालले १०० रन बनाए । उनले ६० बलमा १२ चौका र चार छक्का प्रहार गरे । नेपालले स्कोरबोर्डमा १० रन जोड्दा दुई विकेट गुमाएको थियो । देवले तेस्रो विकेटका लागि दीपक बोहरासँग १६६ रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए । दीपकले ५९ बलमा पाँच चौका र दुई छक्कासहित ६५ रन बनाए ।

दीपक डुम्रेले ४४ बलमा आठ चौका र दुई छक्कासहित ६९ रन जोडे । दीपेशले २९ रन थपे । अन्तिममा ब्याटिङका लागि आएका आकाश चन्दले १९ र सुवास भण्डारीले १८ रनको योगदान गरे ।

नेपालका दुई ब्याटर ‘गोल्डेन डक’ भएका थिए । ओपनर अर्जुन साउद र मिलन बोहरा पहिलो बलमै पभेलियन फर्किएका थिए ।

प्रतियोगितामा नेपालसँगै १६ टिमको सहभागिता छ । सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै बहराइन, इरान र साउदी अरेबिया छन् । नेपालले दोस्रो खेल आइतबार बहारइनसँग बायोमास ओभलमा खेल्नेछ । प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो हुने टिम पाकिस्तानमा हुने तालिका रहेको यू–१९ एसिया कपमा छनोट हुनेछन् ।