विद्रोह गरेका केदार कार्की कोशी प्रदेशका मुख्यमन्त्री !

विद्रोह गरेका केदार कार्की कोशी प्रदेशका मुख्यमन्त्री !

राष्ट्रिय राजनीतिमा तरंग



काठमाडौं । नेपाली कांग्रेसबाट विद्रोह गरेर प्रदेश प्रमुखलाई बहुमत हस्ताक्षर बुझाएका केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावना बलियो देखिएको छ । कार्कीले कांग्रेसबाट ८ र एमालेका ३९ जनासहित ४७ जनाको हस्ताक्षर प्रदेश प्रमुख परशुराम खापुङलाई बिहीबार बुझाएका छन् ।

कांग्रेसबाट विद्रोह गर्ने सांसदहरुमा मोरङका केदार कार्की, उदयपुरका रामकुमार खत्री र लिलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बु र सुनसरीकी सुनिता गुरुङ छन् । ८ जना हस्ताक्षरकर्तामा नरहेका कांग्रेस संसदीय दलका उपनेताबाट राजीनामा दिएर हिमाल कार्कीसमेत यो समूहमा आबद्ध भएका छन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट माओवादीका इन्द्र आङ्बोले पनि कांग्रेसको २९, माओवादीको १३, एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको १ जनासहित ४७ जनाको हस्ताक्षर बुझाएका छन् । गठबन्धनको निर्णयअनुसार आङबोले यो हस्ताक्षर प्रदेश प्रमुख समक्ष बुझाएका हुन् ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेश प्रमुख खापुङले प्रदेश सांसदमध्ये जोकोहीलाई शुक्रबार ५ बजेभित्र मुख्यमन्त्री दाबी गर्न आह्वान गरेका थिए । प्रदेश प्रमुखले आह्वान गरेको समयसीमा भोलि साँझ ५ बजेपछि सकिँदैछ । बिहीबार नै कार्की र आङ्बोले मुख्यमन्त्रीको दाबी पेस गरिसकेका छन् ।

कार्कीले पेस गरेको दाबीमा हस्ताक्षर स्पष्टसँग ४७ जनाको पुग्छ भने आङ्बोले दाबी गरेको हस्ताक्षरमा कांग्रेसका ८ जनाको नाम दोहोरिएको छ । यो विवादको निरुपण अब प्रदेश प्रमुखले हस्ताक्षर सनाखतबाट गर्ने छन् । आफ्ना पक्षमा हस्ताक्षर गर्ने कांग्रेसका ८ जना सांसदलाई भोलि साँझ ५ बजेसम्म कायम राख्न सके भने कार्की मुख्यमन्त्री बन्ने निश्चित छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन हुने भएकाले दलको ह्वीप सांसदलाई बाध्यकारी हुने छैन ।

कांग्रेसको आन्तरिक किचलो सतहमा
नेपाली कांग्रेस पार्टीको निर्णयविरुद्ध कार्कीले मुख्यमन्त्रीमा दाबी गरेपछि राष्ट्रिय राजनीतिमा तरंग फैलिएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले कोशीमा सरकार बनाउन चालिएको कदमलाई गम्भीर रुपमा लिएको जनाएको छ । छिट्टै बैठक बसेर निर्णय लिने बुझिएको छ ।

यदि कार्की मुख्यमन्त्री बने भने सत्तारुढ गठबन्धन संकटमा त पर्ने नै छ त्योभन्दा पनि राष्ट्रिय राजनीतिले नयाँ कोर्ष समात्ने विश्लेषण कुमार यात्रुको छ । कार्कीले मुख्यमन्त्री दाबी पेस गर्दा शान्त तलाउमा ढुंगा हानेजस्तो भएको छ भने उनी नै निर्वाचित भए भने नेपालको राजनीतिले नयाँ मोड लिने यात्रुको भनाइ छ ।

संसदीय दलको नेता फेरेर भए पनि कांग्रेसले कोशी प्रदेशमा मुख्यमन्त्रीको दाबी छोड्न नहुने संस्थापनइतरको मागलाई सभापति देउवाले सुन्न चाहेनन् । बरु आन्तरिक झगडा देखाएर मुख्यमन्त्री पद माओवादीलाई बुझाउन सभापति देउवा तयार देखिए । यसलाई संस्थापनइतर पक्षले विद्रोह गर्ने अवसरका रुपमा लियो ।

कांग्रेसमा केदारको भविष्य
विद्रोह आफैमा निर्दयी हुन्छ । यदि सफल भयो भने राजकाज आफ्नो हातमा हुन्छ, असफल भए मृत्यु निश्चित छ । इतिहासमा भेटिएको अहिलेसम्मको तथ्य यही हो । तर अहिलेको परिवेशमा मृत्युको अर्थ पार्टीसँगको सम्बन्ध अनुकूल नरहेसम्म टाढा हुने हो । आफ्नै पार्टीको मुख्यमन्त्रीलाई टाढा बनाउने निर्णय तत्काल सभापति देउवाले गर्न सक्ने परिस्थिति देखिदैन ।

कुनै तिलस्मी घटना भएन भने यो विद्रोहमा कांग्रेस संस्थापनइतर सफल हुने देखिन्छ । तर, रात रहे अग्राठ पलाउँछ भन्ने नेपाली उखान राजनीतिमा बिर्सन मिल्दैन । तिलस्मी घटना पनि भएन, अग्राठ पनि पलाएन भने मुख्यमन्त्रीमा कार्कीलाई ६ सिट भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सहयोग गर्ने चित्र सबै सामू छर्लङ्ग देखिन्छ । मध्यावधि चुनाव रोक्नलाई जसले बहुमत पु-याउन सक्छ अन्तिममा उसैलाई समर्थन गर्ने मध्यमार्गी बाटोमा रहेको राप्रपाले कार्कीलाई सहयोग गर्ने वातावरण बनेको छ ।

उपसभामुखबाहेक एमालेको ३९, कांग्रेसको ९ र राप्रपाको ६ सहित ५४ जनाको समर्थनमा कार्कीलाई मुख्यमन्त्री पदमा प्रदेश प्रमुख खापुङले सपथ गराउने छन् ।