कोशीमा राप्रपा प्रतिपक्षी भूमिकामा रहन्छ : सिटौला

कोशीमा राप्रपा प्रतिपक्षी भूमिकामा रहन्छ : सिटौला



विराटनगर । राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो पार्टी प्रतिपक्षीमा रहने बताएका छन् । उनले प्रतिपक्षी भूमिका रिक्त हुने अवस्था आएपछि आफूहरु प्रतिपक्षमा बस्न लागेको बताए । प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

नेता सिटौलाले शासक ठिक भए प्रशासन ठिक हुने बताएका छन् । भ्रष्टाचार यत्रतत्र भएको, सरकारी जग्गा अपचलन हुन, क्वीन्टल क्वीन्टल सुन तस्करी हुने, मानव तस्करी हुने अवस्था रहेको बताउँदै उनले यसखालका गतिविधि यो प्रदेशमा प्रवेश गर्नै दिन नहुने सिटौलाले बताए ।

उनले प्रदेशको जग बलियो बनाउनुपर्ने बताए । ‘भ्रष्टाचारको अन्त्य गर्न र प्रशासनलाई राम्रो बनाउन कानुन आवश्यक भएको छ । विधिमा मुलुक चलेको छैन । कोही एक व्यक्तिले पूर्ण समुदायलाई गाली गर्दा सरकार चुप लागेर बसेको छ,’ उनले भने, ‘मुलुक औद्योगीकरण गर्नुपर्छ । पूर्वाधार निर्माण गर्नुपर्छ । तर, आज त्यसको अवस्था शून्य छ ।’

कोही एकजना व्यक्तिलाई रिस उठ्यो भन्दैमा तस्बिर राखेर त्यहाँ थुक्नु, सार्वजनिक अपमान गर्नु भनेको देशको बेइज्जत भएको सिटौलाले भने । झापामा आयोजित एमाले कार्यक्रममा दुर्गा प्रसाई निकटका व्यक्तिहरुले गरेको आक्रमणविरुद्ध आक्रोशित हुँदै सिटौलाले पुलिस रमिते भएको बताए ।

‘मुलुक ऐन कानुन अनुसार चल्छ कि चल्दैन ? कोशी प्रदेशको नामकरण संविधानअनुसार गरियो । तर, कोशी नामकरणमा ल्याप्चे लगाउनेहरु कुन नैतिकताले मुख देखाउन मिल्छ ?,’ सिटौलाले भने, ‘यस्तो बचकनाले मुलुक चल्छ ? संविधानसम्मत राखिएको कुरालाई संविधानसम्मत ढंगले नै परिवर्तन गर्नुपर्छ । तर, कोशी नाममा ल्याप्चे लाउनेहरु नै सडकमा निस्कनु यो राम्रो भएन ।’