काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भावी नेतृत्वका लागि गए राति १२ बजेबाट मतदान सुरु भएकाे छ ।अनलाइन तथा भौतिक रुपमा उपस्थिति भएर गरिने मतदानले भावी नेतृत्वमा चयन गर्नेछ ।
भौतिक रुपमा उपस्थित भएर मतदान गर्नेहरुका लागि आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने ब्यवस्था मिलाइएको छ । निर्वाचन समितिका अनुसार अनलाइनबाट मतदान गर्नका लागि चौबीस घण्टाको समयसीमा तोकिएको छ । उनीहरु आज राति १२ बजेसम्म मतदान गर्न पाउँछन् । जारी महाधिवेसनमा ४ हजार २ सय २७ प्रतिनिधिहरुले मतदान गर्न पाउने छन, जसमध्ये झन्डै ९ सय प्रतिनिधि भने नेपाल आएकाले उनीहरुले यतैबाट मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।
अध्यक्ष पदमा महेश श्रेष्ठ, बद्री केसी र आरके (राजेन्द्र कुमार) शर्मा प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । एनआरएनएको जारी ११ औँ महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित आठ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ ।
एनआरएनएमा सो ७४ पदका लागि संसारभरवाट एक सय २० जनाले उम्मेदवारी दिएका छन । जसमध्ये अध्यक्षका लागि ३ जना, ६ जना उपाध्यक्षका लागि १८ जना र एक महासचिवका लागि दुईजना बीच प्रतिस्पर्धा हुँदैछ । दुई उपमहासचिवमा पाँच जनाले र ६ सचिव पदका लागि १५ जनाले उम्मेदवारी दिएको जनाईएको छ । ८ वटा पदमा उम्मेदवारी परेन भने १४ पदमा निर्विरोध निर्वाचित भए ।
महेश श्रेष्ठको पल्ला भारी
अध्यक्षका प्रत्यासी महेश श्रेष्ठको पक्षमा चुनावी माहोल बनेको देखिएको छ । अध्यक्षका प्रत्यासी रविना थापाले उम्मेदवारी फिर्ता लिएर श्रेष्ठलाई समर्थन गरेपछि चुनावी माहोल उनको पक्षमा उर्लिएको हो । थापाको उमेदवारी फिर्तासँगै श्रेष्ठका समर्थकहरु उत्साहित देखिएका छन्।
बुधवार राती श्रेष्ठ र थापाबीच सहमति भई थापाले श्रेष्ठलाई सघाउने सम्झौता समेत भएको छ। सम्झौतामा हस्ताक्षर भएलगत्तै होटल परिसरमा श्रेष्ठ र थापा दुवैले आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका थिए।
‘मेरो एजेन्डालाई महेशजीले आफ्नो एजेन्डा बनाउने भन्नुभएकोले सहमतिको वातावरण बन्यो र मैले महेशजीलाई एकता र सहकार्यका लागि समर्थन गर्दै मेरो उम्मेदवारी फिर्ता लिने र उहाँलाई सघाउने निर्णय गरेकी छु’ थापाले भनिन्। श्रेष्ठले एकताका लागि आफ्नो समर्थनमा उम्मेदवारी फिर्ता लिएर सहयोग गर्नु भएको भन्दै थापालाई धन्यवाद दिएका थिए। थापा वर्तमान कार्य समितिकी अध्यक्ष हुन् भने श्रेष्ठ उपाध्यक्ष हुन्।
प्रतिक्रिया