काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा. बद्री केसीलाई विजयी घोषित गरिएको छ। बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य दुई प्रत्यासी महेश श्रेष्ठ र आरके शर्मालाई पराजित गर्दै केसी अध्यक्ष पदमा निर्वाचित भएको परिणाम सार्वजनिक गरिएको छ। तर प्रविधिको दुरुपयोग गरी मत परिणाम सार्वजनिक गरिएको भन्दै श्रेष्ठ र शर्माले परिणाम अस्वीकार गर्ने संयुक्त विज्ञप्ति सार्वजनिक गरेका छन्।
सार्वजनिक गरिएको परिणाम अनुसार, डा. केसी १ हजार ३ सय ७८ मतसहित विजयी हुँदा शर्माले १ हजार २ सय ८१ र श्रेष्ठले १ हजार २ सय २५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। राजधानीको होटल सोल्टीमा भएको एनआरएनएको ११ औँ विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनको लागि निर्वाचन भएको हो। तर सार्वजनिक परिणाममा उपाध्यक्षका प्रत्यासी डाक्टर केशब पौडेलको पक्षमा प्रत्यक्ष मतदानमा शून्य मत खसेको देखिएपछि अहिले यो परिणामप्रति विश्वास गर्न नसक्ने भन्दै विवाद जारी छ।
निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार विभिन्न महादेशबाट प्राप्त परिणामको कूल नम्वरमा पनि फरक देखिएको छ। जसले गर्दा सम्पूर्ण निर्वाचन परिणामप्रति नै अविश्वास उत्पन्न भएको छ।
सार्वजनिक परिणाम अनुसार, अधिकांश पदमा डाक्टर केसी पक्षधर उमेद्वार विजयी घोषित गरिएको छ। ६ जना उपाध्यक्षमा डा. हेमराज शर्मा (२२६५), रोविन शेरचन (२१८०), रामशरण सिंखडा (१५५२), खगेन्द्र न्यौपाने (१३५७), राज रेग्मी (१९००) र डा. विनोद श्रेष्ठ (१५६०) मतसहित निर्वाचित भएका छन्। जसमध्ये रेग्मी मात्र महेश श्रेष्ठ टीममा थिए भने शेरचन दुवै टीममा थिए।
यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधानले १ हजार ९ सय ४७ मत प्राप्त गरेर विजयी भइन् भने सोही पदमा यसमिन वेगम सैयदले १ हजार ९ सय १४ मत प्राप्त गरिन्।
यस्तै युवा उपाध्यक्षमा रोसन थापाले २ हजार ४ सय ६८ मत प्राप्त गरेर विजयी भए। सो पदमा अर्का प्रत्यासी अब्दुल बासिदले १ हजार ३ सय २२ मत प्राप्त गरे।
संघको महासचिवमा गौरीराज जोशीले २ हजार ३७ मत प्राप्त गरेर विजयी भए। महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १ हजार ८ सय १८ मत प्राप्त गरेका छन्। यस्तै उपमहासचिवमा सोम सापकोटा (१७९०) र प्रविन गुरुङ (२१५०) मतसहित विजयी भए।
६ सचिव पदमा भिम केसी कमल (१६७३), डा. ज्ञानेन्द्र रेग्मी (१७८२), मनोजकुमार श्रेष्ठ (२०२४), डा. नवराज रोस्यारा (१८५३), पारसमणी पोखरेल (१६५१) र स्वतन्त्र प्रताप शाह (१६६६) विजयी भएका छन्।
महिला सचिवमा टिका गुरुङ (राधिका) (२३२०) विजयी भइन्। सोही पदमा विमला सापकोटाले १ हजार ५सय ३९ मत प्राप्त गरिन्। संघको कोषाध्यक्षमा सुदन थापाले १ हजार ९ सय १७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी ठाकुरप्रसाद ढुंगानाले १ हजार ९ सय १२ मत प्राप्त गरे।
यस्तै सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सीना (२०१५), अभिमन्यू बस्नेत (२०८१) र तिलक प्रसाद गैरे (२२३२) मत प्राप्त गरेर विजयी घोषित भए। यस्तै महिला सहकोषाध्यक्षमा अमृत थापाले २ हजार २ सय ८७ मत प्राप्त गरेर विजयी भइन् । उनकी प्रतिद्वन्द्वी तृष्णा शर्माले १ हजार ५ सय २२ मत प्राप्त गरिन्।
यस्तै अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २ हजार ३ सय ३६ मत प्राप्त गरेर विजयी भइन्। सोही पदमा देविका खत्री गुरुङले १ हजार ५ सय २४ मत ल्याइन्। यस्तै संघको युवा संयोजकमा सुपेन्द्र घिसिङले २ हजार ३६ मत प्राप्त गरेर विजयी भए । सोही पदमा रविन अधिकारीले १ हजार ७ सय ६५ मत प्राप्त गरे।
प्रतिक्रिया