काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित कार्यालयमा सरकारले चाबी लगाउने तयारी गरेको बुझिएको छ । आज मंगलबार भएको दुई पक्षीय भिड्न्तलाई मध्यनजर गरेर नेपाल राष्ट्र बैंकको कार्यालय र एनआरएनएको सम्पत्ति सुरक्षा गर्न परराष्ट्र मन्त्रालयले ताला लगाउने तयारी गरेको हो ।
एनआरएनए कार्यालयमा भिड्न्त सिर्जना गरेर ताला लगाउने सरकारको योजनामा एमालेको भ्रातृ संस्था युवा संघ सहयोगी देखिएको छ । एनआरएनए कार्यालय रहेको भवनको पहिलो र दोस्रो तला नेपाल राष्ट्र बैंक भाडामा बसेको छ । राष्ट्र बैंक र एनआरएनएको सुरक्षाको नाममा परराष्ट्र मन्त्रालयले टप फ्लोरमा रहेको एनआरएनएको कार्यालय सिल गर्ने तयारी गरेको हो ।
आज मंगलबार आयोजना गरेको कार्यक्रममा एमाले निकट युवा संघको दस्ताले आरके शर्मा समूहविरुद्ध अभद्र व्यवहार मात्र गरेन, हातपातमै उत्रेपछि परिस्थिति असामान्य बनेको थियो । युवा संघका नेता महेश बस्नेतको नेतृत्वमा एनआरएनए कार्यालय पुगेको टोलीले आरके शर्माको समूहमाथि हातपात गरेको हो ।
एनआरएनएको तालुकदार परराष्ट्र मन्त्रालय हो । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद यतिबेला अमेरिका भ्रमणमा छन् । एनआरएनए कार्यालयमा ताला लगाउने वा नलगाउने विषयमा संवाद भइरहेको परराष्ट्र मन्त्रालय श्रोतले ग्लोब नेपाललाई बतायो ।
यदि एनआरएनए कार्यालय सरकारले सिल ग-यो भने अर्को अधिवेशन अगाडि नखुल्ने जानकारहरु बताउँछन् । सन् २००२ मा नेपाल ओलम्पिक कमिटी र खेलकुद परिषद् बीच विवाद हुँदा शिक्षा मन्त्रालयले ओलम्पिक कमिटीको कार्यालय लहाछाप गरेर सिल गरेको थियो । सरकार परिवर्तन हुँदासमेत कमिटीको कार्यालय खुल्न सकेन । झन्डै एक वर्षपछि दुवै समूह मिलेपछि ओलम्पिक कमिटीको कार्यालय खुल्यो र नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाएका थिए ।
ओलम्पिक कमिटी र एनआरएनएलाई सरकारले असहयोग गरे पनि चल्न सकिन्छ भन्ने दम्भ छ । अहिले यही प्रकृतिसँग मिल्दाे घटना एनआरएनए कार्यालयमा भएको छ । दुवै पक्षले संयमता नअपनाउने हो भने प्रचण्ड सरकारले एनआरएनए कार्यालय लहाछाप गरेर सिल गर्ने सम्भावना देखिएकाे छ ।
प्रतिक्रिया