पाँचथर । धान उत्पादन बढाउन पाँचथरको फाल्गुनन्द गाउँपालिकाले ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने भएकाे छ । गाउँपालिकाले कृषकलाई पुरस्कृत गर्न ‘धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८०’ ल्याएको हो ।
कार्यविधिअनुसार ५० मुरीदेखि सय मुरीसम्म धान उत्पादन गर्ने कृषकले रु. ३० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, सय मुरीभन्दा बढी धान उत्पादन गर्ने कृषकले रु. ५० हजार पुरस्कार प्राप्त गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए ।
गाउँपालिकाले बिहीबार सार्वजनिक सूचना प्रकाशन गर्दै मापदण्डबमोजिम पुरस्कार प्राप्तिका लागि निवेदन दिन कृषकलाई आह्वान गरेको छ । एक साताभित्र आवेदन लिई मापदण्डबमोजिम छनोट भएका कृषकलाई पुरस्कृत गरिने तुम्रोकले जानकारी दिए । उनका अनुसार आवेदन दिन कृषकले वडा कार्यालयमा उपलब्ध ढाँचाबमोजिमको निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि र वडा कार्यालयको सिफारिस बुझाउनुपर्नेछ ।
हालै मात्र कार्यविधि कार्यान्वयनमा आएकाले यस वर्ष ५० मुरीभन्दा बढी धान फलाएका कृषकको धान जहाँ राखिएको छ, सोही स्थानमा जाँच्ने गाउँपालिकाको तयारी छ । यसका लागि पालिकाको कृषि विकास शाखा, वडा कार्यालयमा वडाध्यक्ष नेतृत्वको समितिले काम गर्ने प्रमुख प्रशासकीय अधिकृत तुम्रोकले बताए ।
तुम्रोकले भने, ‘अधियाँ गरे पनि, कुतियाँ गरे पनि सबै जोड्दा ५० मुरी फलेको देखियो भने उत्पादन गर्ने कृषकले पुरस्कार पाउँछन् । जग्गाधनीले होइन ।’
अधिकांश विपन्न परिवारले धान, मकैलगायत परम्परागत खाद्यबाली उत्पादनमा जोड दिइरहेका छन् । फाल्गुनन्दका सातवटै वडामा धानखेती हुने गर्दछ । यहाँ रहेको निबुखोलाले सबै वडाको तटीय क्षेत्रलाई सिँञ्चित गर्ने गरेको छ । निबुको बेँसी जिल्लामा सबैभन्दा बढी धान उत्पादन हुने क्षेत्र हो ।
बर्सेनि धान उत्पादन घट्दै जान थालेपछि फाल्गुनन्दले कृषकलाई प्रोत्साहित गरी खेतीतर्फ आकर्षित गर्ने योजना ल्याएको हो । यसअघि पाँचथरको मिक्लाजुङ गाउँपालिकालेसमेत ५० मुरीभन्दा बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम सञ्चालन गरेको थियो ।
प्रतिक्रिया