देउवाले विश्वासको मत पाउने निश्चित, माधव नेपाल समूहले मत दिने

देउवाले विश्वासको मत पाउने निश्चित, माधव नेपाल समूहले मत दिने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने निश्चित भएको छ । एमालेको माधवकुमार नेपाल पक्षले विश्वासको मत दिने भएसँगै प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने पक्का भएको हो । एमाले सांसद विरोध खतिवडाले सर्वोच्च अदालतले पनि ह्वीप नलाग्ने भनेकोले विश्वासको मत दिने बताउनुभएको छ । 

नेपाल पक्षका शीर्ष नेताहरु भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्टलगायतका नेताहरुबीच विश्वासको मत दिने कि नदिने भन्नेबारे छलफल भएको बुझिएको छ । 

यसअघि नेपाल पक्षका २६ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारी बुझाएका थिए । तर, पछि प्रतिनिधि सभा पुनःस्थापना र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै सर्वोच्चमा दिएको मुद्दामा भने नेपाल पक्षका २३ जना सांसदले मात्रै हस्ताक्षर गरेका थिए ।

गत असार २८ को फैसलाअनुसार यसपटक दलीय ह्वीप नलाग्ने भएकाले जुनसुकै पार्टीका सांसदले पनि विश्वासको मत दिन सक्नेछन् ।
पछिल्लो समीकरण अनुसार नेपाली काँग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, राष्ट्रिय जनमोर्चाका १ र जसपाको उपेन्द्र यादव पक्षका १७ जना सांसद प्रधानमन्त्री देउवाको पक्षमा छन् ।

सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभामार्फत विश्वासको मत लिँदैछन् ।