आज श्रीकृष्ण जन्माष्टमी पर्व

आज श्रीकृष्ण जन्माष्टमी पर्व



काठमाडौं । आज कृष्ण जन्माष्टमी । भाद्र कृष्ण अष्टमीका दिन मनाइने यो पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

यस अवसरमा देशभरीका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै श्रद्धालु भक्तजनहरु व्रत बसी रातभर जाग्राम बस्ने गर्छन् ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवं वसुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको शास्त्रीय वर्णन छ ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डव मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं कृष्णको मुखबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ हिन्दूहरूको पवित्र ग्रन्थ हो ।

गीता विश्वका सवैभन्दा धेरै भाषामा अनुवाद भएको ग्रन्थ पनि हो । यस अवसरमा पाटनको मंगलबजार स्थित प्रसिद्ध कृष्ण मन्दिरलगायत देशभरका कृष्ण मन्दिरहरुमा विशेष मेला लाग्ने गर्दछ ।

यद्यपि कोरोनाका कारण बिगतको बर्ष भन्दा यसबर्ष भक्तजनहरुको भिडभाड कम हुने भएको छ । यस पर्वका अवसरमा विगतका वर्षमा काटिएको सार्वजनिक बिदा यस वर्षदेखि पुनः दिन थालिएको छ ।