सडक विभागका महानिर्देशकलाई प्रधानमन्त्रीको फोन- ‘सिसडोलको बाटो तत्काल बनाउनू’

सडक विभागका महानिर्देशकलाई प्रधानमन्त्रीको फोन- ‘सिसडोलको बाटो तत्काल बनाउनू’



काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि सहजीकरण गरिदिन काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेको छन् ।

नेपाल सरकारले नुवाकोटको सिसडोल (बञ्चरेडाँडा) मा बनाइरहेको ल्यान्डफिल साइट निर्माण पूरा नभएको र सिसडोलसम्म जाने बाटो अत्यन्तै खराब भएकाले फोहर व्यवस्थापन गर्न कठिन भएको भन्दै शाक्यले बाटो बनाई दिन प्रधानमन्त्रीलाई पत्र लेखेका हुन् ।

मेयर शाक्यले उपत्यकाको फोहोर फाल्ने स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने सडक निर्माणका लागि प्रधानमन्त्रीलाई अनुरोध गरेको बताए । सडक निर्माणका लागि महानगरले नै खर्च व्यहोर्ने पनि उनले बताए । ‘सिसडोलसम्म फोहोर बोकेका गाडी पुर्‍याउ सडक निर्माणको पहल गर्न हामीले प्रधानमन्त्री ज्यूलाई आग्रह गर्‍यौं । उनले त्यहींबाट सडक विभागका महानिर्देशकलाई टेलिफोन सम्पर्क गरी तत्काल बाटो बनाउने काम थाल्न निर्देशन दिनुभयो’ मेयर शाक्यले भने । प्रधानमन्त्री देउवालाई भेट्न सोमबार मेयर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलगायत जनप्रतिनिधि बालुवाटार पुगेका थिए ।

शाक्यले बञ्चरे डाँडाको ल्याण्डफिल साइट छिटो निर्माण सक्ने वातावरण बनाई दिन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइटको हालसम्म पनि निर्माण नसकिएको र त्यहाँ पुग्ने सडक पनि नबनेको उनले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

मेयर शाक्यले पत्रमा लेखेका छन्, ‘नेपाल सरकारबाट काठमाडौँ उपत्यकाको फोहरमैलाको दीर्घकालीन समस्या समाधानका लागि निर्माणाधीन बञ्चरे डाँडा स्यानीटरी ल्यान्डफिल साइटको अहिलेसम्म पनि निर्माण कार्य सम्पन्न नभएको र त्यो ल्यान्डफिल साइटमा पुग्ने बाटो समेत निर्माण सम्पन्न हुन नसकेको कारण उपत्यकाको फोहरमैला व्यवस्थापनमा अवरोध पुगेको छ । यस अवस्थामा तत्काल बञ्चरे डाँडा ल्यान्डफिल्ड साइट र त्यो साइटसम्म पुग्ने बाटो अविलम्ब निर्माण गरी गरिदिनु हुने अनुरोध गर्दछ ।’ अहिले काठमाण्डौ महानगरपालिकाबाहेक २० भन्दा बढी पालिकाबाट उत्सर्जन हुने फोहरको अन्तिम जिम्मेवारी काठमाडौँ महानगरपालिकाबाट हुँदै आएको छ ।