२४ घण्टा नबित्दै ८१ जना फरार अपराधी पक्राउ

२४ घण्टा नबित्दै ८१ जना फरार अपराधी पक्राउ



कपिलवस्तु । कपिलवस्तु प्रहरीले आज मङगलबार जिल्लाभर विभिन्न अपराधमा संलग्न भई फरार रहेका ८१ जना फरार अपराधिहरुलाई एक दिनमै पक्राउ गर्न सफल भएको छ।

कपिलवस्तु जिल्लामा बिगत विभिन्न मितिमा लागुऔषध, लुटपिट, कुटपिट, चेक अनादर, सवारी ज्यान, जुवा जस्ता कसुरमा संलग्न भई कपिलवस्तु जिल्ला अदालतले गरेको फैसलामा कसुरदार ठहरिएका ८१ जना मानिसहरुलाई आजै २४ घण्टाभित्रमा प्रहरीले पक्रन सफल भएको हो।

कपिलवस्तु जिल्ला प्रहरी प्रमुखको रुपमा आएदेखि Fugitive Arrest Program (FAP) ‘फ्याप’ कार्यक्रम ल्याई लाई त्यसलाई प्राथमिकता दिई सूचना संकलन एवं प्रहरी कार्यमा सक्रियता दिएसंगै एकै दिनमा सफलता हासिल हुन सकेको कपिलवस्तुका प्रहरी प्रमुख एस.पी. दान बहादुर कार्कीले जानकारी दिए। कपिलवस्तुका प्रहरीलाई विभिन्न कार्यक्रम मार्फत सकृय बनाएसंगै कपिलवस्तु प्रहरीले फरार पक्राउमा सफल भएको एस.पि.कार्कीले बताए।
“अपराध गरेर समाजलाई दुषित पारेर बिभिन्न आवरणमा त्यही समाजमा लुकेर बसिरहेको प्रहरीले टुलुटुलु हेरेर बस्दैन; बरु अपराध गर्नेहरू एक दिन अवश्य कानूनको दायरामा आउनै पर्छ भन्ने सन्देश दिन यो कार्यक्रमलाई तीब्रता दिएका हौँ” एस.पि.कार्कीले भने ।

आज एकैदिनमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुसँगै जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालय क्रमशः कृष्णनगर, गणेशपुर, चन्द्रौटा, पिपरा, गोरुसिङगे, पकडीले सबैभन्दा धेरै फरार अपराधी पक्राउ गरेका छन् । यसरी पक्राउ गरिएका फरार प्रतिवादिहरुलाई फैसला बमोजिमको सजाय भुक्तानको लागि जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराईएको डि.एस.पि. धर्मराज भण्डारीले बताए।

कसुर गरेर दण्ड भुक्तान नगरी समाजमा लुकेर बस्ने सुबिधा कसैलाई हुँदैन । कानुन सबैलाई लाग्छ र कानुन छलेर बसौँला भनेर सोच्ने दिन गएको समेत पक्राउ टोलीमा खटिएका एक प्रहरी अधिकृतले बताए। यसरी खटिएर काम गरी सफलता हात पर्दा सज्जन नागरिकको मनोबल बढ्ने र अपराधीको मनोबल घट्ने प्रहरी निरीक्षक सुकदेव पौडेलले जानकारी दिए।

विशेष गरि सवारी ज्यान, लागुऔषध, जालसाजी, जुवा, चेक अनादर, अंगभंग, वनपैदवार, लुटपिट, कुटपिट आदि गरि १२ वटा विभिन्न कसुरमा संलग्न भई अदालतको फैसला पश्चात् फरार रहेका ८१ जना अपराधीहरुलाई विशेष सूचनाको बिकास गरी सोही आधारमा एकैदिनमा पक्रन सफल भएको प्रहरी निरीक्षक प्रेम रेग्मीले बताए। साथै आगामी दिनमा फरार पक्राउलाई थप तिब्रता दिईने समेत उनले जानकारी दिएका छन् ।