तत्काल काबुल विमानस्थल छोड्न आफ्ना नागरिकलाई अमेरिकाकाे निर्देशन

तत्काल काबुल विमानस्थल छोड्न आफ्ना नागरिकलाई अमेरिकाकाे निर्देशन



काबुल (एजेन्सी) । अमेरिकाले आफ्ना नागरिकलाई काबुल विमानस्थल छाड्न सचेत गरेको छ । अतिवादी मुस्लिम समूह इस्लामिक स्टेट (आईएस) ले कुनै पनि बेला आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई यस्तो सचेत गराएको हो । विमानस्थल गेटबाहिर आइएसले जुनसुकै बेला अमेरिकी नागरिकमाथि हमला गर्न सक्ने वासिंगटनको अनुमान छ । विमानस्थलमा बढिरहेको भिडभाडबारे अनुगमन गरेको र वैकल्पिक मार्गबारे खोजी भइरहेको अमेरिकी रक्षा मन्त्रायलयका अधिकारीले बताएका छन् ।

आइएसको सम्भावित हमलाको जोखिमबारे थप विवरण सार्वजनिक गरिएको छैन । त्यस्तै, सो समूहले पनि काबुलमा हमला गर्ने चेतावनी अहिलेसम्म सार्वजनिक रुपमा दिएको छैन् ।

विमानस्थल टर्मिनलबाहिर हिंसात्मक झडप भइरहेका बेला अमेरिकी सरकारले आफ्ना नागरिकलाई सचेत गराएको हो । केही दिनअघि मात्र हजारौ मानिस देश छाडेर जाने क्रममा विमानस्थलमा भागदौड हुँदा केहीको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो । बेलायतको रक्षा मन्त्रालयका अनुसार सो भागदौडमा सातजनाको मृत्यु भएको थियो ।

काबुल विमानस्थलको सट्टा वैकल्पिक मार्ग खोजी भइरहेको विमानस्थलको भिडबारे अनुगमन गरेको अमेरिकी रक्षा मन्त्रायलयका अधिकारीको भनाइ

अमेरिकी सेनासँगै देश छोडेर जान चाहने अफगान नागरिकहरुको बढ्दो चापका कारण काबुल विमानस्थलमा भिड बढेको छ । अमेरिकी सेनासँग काम गरेका तथा अफगानिस्तानमा मानवअधिकारको पक्षमा वकालत गरेका कतिपय अफगानीहरु आफूहरुमाथि तालिावनले बदला लिन सक्ने आशंकामा देश छोड्न आत्तुर छन् ।

तालिवानले सत्ता कब्जा गरेपछि २५ सय अमेरिकी नागरिकसहित १७ हजार मानिस स्वदेश फर्किएका छन् । हजारौं मानिस स्वदेश फर्किन विमानस्थलमा बसिरहेका छन् । आफूसँगै अमेरिका जान चाहने अमेरिकीमाथि दुव्र्यबहार भएको अमेरिकी अधिकारीले बताएका छन् । विमानस्थल जाने क्रममा उनीहरुमाथि कुटपिट भएको छ ।

हिंसाका घटना बढ्न थालेपछि अमेरिकी विदेश मन्त्रालयले भिड नगर्न अनुरोध गरेको छ । काबुलबाट कसरी सुरक्षित यात्रा गर्ने बारेमा मन्त्रालयल आफ्ना नागरिकलाई निर्देशन जारी गरेको मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

त्यस्तै, अन्य देशले पनि आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरेको छ । काबुल विमानस्थल जोखिममा रहेको र विमानस्थलको पहुँचमा कडाइ गरिएको स्विट्जरल्यान्डको विदेश मन्त्रालयले जनाएको छ । पछिल्ला दिनमा विमानस्थलको सुरक्षा अवस्था दयनीय रहेको पनि मन्त्रालयले जनाएको छ । असुरक्षा दर्शाउँदै स्विट्जरल्यान्डले काबुलका चार्टड उडान स्थगित गरेको छ ।

हाल अमेरिकी फौजले अन्तर्राष्ट्रिय विमानस्थल नियन्त्रणमा लिएको छ । अमेरिकाले आफ्ना र अन्य देशका नागरिकलाई स्वदेश फर्काउन सहयोग गरिरहेको छ । अमेरिकाले ३१ अगस्टसम्म आफ्ना सबै नागरिक स्वदेश फिर्ता गर्ने बताएको छ ।