‘स्मार्ट काठमाडौं’ का सडकमा फोहोरको डंगुर

‘स्मार्ट काठमाडौं’ का सडकमा फोहोरको डंगुर



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनाव जितेपछि मात्र होइन, चुनावमा उठेदेखि नै काठमाडौंलाई स्मार्ट सिटी बनाउने घोषणा गरेका थिए । उनले चुनाव जितेर चार वर्षको कार्यकाल पूरा गरिसकेका छन् । तर काठमाडौंलाई स्मार्ट बनाउन सकेनन् । अहिले काठमाडौंका सडकमा थुप्रिएको फोहोरले मेयर शाक्यको त्यो प्रतिबद्धतालाई गिज्याइँ रहेको छ ।

झापाका शुकलाल राजबंशी पहिलो पटक काठमाडौं आएको केही दिन भयो । गाउँको स्वच्छ हावापानीमा बस्दै आएका राजवंशीलाई काठमाडौं यति धेरै दुर्गन्धित होला भन्ने लागेको थिएन । तर काठमाडौं उनले सोचेको जस्तो पाएनन् ।

काठमाडौं महानगरपालिकाले फोहोर फाल्ने स्थान सिसडोलको बाटो विग्रिएको भन्दै केही समय फोहोर घरमै व्यवस्थापन गर्न भनेको थियो । तर नागरिकका घरको डस्टबिन पनि भरिएपछि अहिले फोहर सडकमा आइपुगेको छ । काठमाडौंका चोक चोक फोहोरले भरिएका छन् । नागरिकलाई बाटोमा हिड्न समेत समस्या छ ।

सिसडोलमा फोहोर फ्याक्न नसक्ने भन्दै महानगरपालिकाले फाहोर उठाएको छैन । जस्ले गर्दा दुर्गन्ध बढ्दो छ र नागरिकलाई विरामी पर्ने हो भन्ने चिन्ताले सताउन थालेको छ । सडक बिग्रिएको भन्दै महानगरले फोहोर व्यवस्थापनमा ढिलाई गर्न नहुने माग नागरिकको छ ।

काठमाडौंको सडकमा फोहोर थुप्रिएपछि केही ठाउँमा फोहोर उठाउन थालिएको छ । तर फोहोर बोकेर जाने गाडीका चालकलाई सिसडोल पुग्न सकिने हो कि होइन भन्ने चिन्ता छ । पानी परेपछि सिसडोल पुग्न सकिँदैन । सिसडोलमै भएको बेला पानी परेमा फर्कन पनि सकिँदैन । त्यसैले चालकहरु पानी नपरे मात्र सिसडोल जाने तयारीमा छन् ।

अमृतका अनुसार फोहोरको गाडी लिएर सिसडोलसम्म सहजै पुग्ने अवस्था छैन । तर सरकारले चाह्यो भने दुई दिन भित्रै त्यो सडक राम्रो हुन्छ र फोहोर लान सहज हुन्छ ।

सवारी चालक अमृतले भनेजस्तै सरकारले चाह्यो भने तत्कालै सिसडोलसम्म पुग्ने सडक निर्माण हुन्छ । तर जिम्मेवार निकाय सडक निर्माण कार्यमा मौन छ । र काठमाडौं महानगरपालिका एउटा सूचना निकालेर ढुक्कसँग बसेको छ ।