कुलमान घिसिङविरुद्धको रिटमा मिसिल कागज झिकाउने सर्वोच्चको आदेश

कुलमान घिसिङविरुद्धको रिटमा मिसिल कागज झिकाउने सर्वोच्चको आदेश




काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाऊँ’ भन्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्चले मिसिल कागज झिकाउने आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले मिसिल कागज झिकाउने आदेश दिएको हो ।

अन्तरिम आदेश जारी नभए पनि प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगमा पठाउने निर्णय, कुलमान घिसिङलाई प्राधिकरणमा नियुक्ति गर्ने मन्त्रिपरिषद्को निर्णय र नेपाल विद्युत् प्राधिकरण र हितेन्द्रदेव शाक्यबीच भएको सम्झौताको सक्कल फाइल ३ दिनभित्र झिकाउन आदेश भएको छ ।

प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति बदर गरिपाऊँ भन्दै पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भदौ १ गते सर्वोच्चमा उत्प्रेषणको आदेश माग गर्दै रिट दायर गर्नुभएको थियो । भदौ २ गते पेसीमा चढे पनि रिट हेर्न नभ्याइने सूचीमा परेको थियो तर आज त्यसमा आदेश भएको छ ।