अमेरिकामा आँधी : एकै परिवारका तीन नेपालीसहित ४० बढीको मृत्यु

अमेरिकामा आँधी : एकै परिवारका तीन नेपालीसहित ४० बढीको मृत्यु



न्युयोर्क । अमेरिकाको न्युयोर्कमा आँधीपछिको बाढीमा परी एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ । सोलुखुम्बु जुनबेसीका ४९ वर्षीय आङगेलु लामा, उनकी २० वर्षीया श्रीमती मिङमायाङजी शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामाको बाढीमा परी मृत्यु भएको हो ।

न्युयोर्कको उडसाइडस्थित घरको वेसमेन्टमा बस्दै आएका उनीहरुको बेसमेन्टमा पानी भरिएर मृत्यु भएको हो । सुतेको बेला डुबेर मृत्यु भएका उनीहरुको शव सुरक्षाकर्मीले बाहिर निकालेका थिए । उनीहरु १४ वर्षदेखि न्युयोर्कमा बस्दै आएको बताइएको छ । न्युयोर्कमा परेको अविरल वर्षाका कारण आएको बाढीले दुई दर्जन बढीको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार आँधीबेहरीको चपेटामा परी ४० जनाभन्दा धेरैको ज्यान गएको छ । न्यूजर्सीका गभर्नर फिल मर्फीले आफ्नो राज्यमा कम्तीमा २३ जनाको निधन भएको बताएका छन् । त्यसमध्ये अधिकांश पानीको तह बढेपछि आफ्नै सवारीसाधनमा फसेका थिए । न्यूयोर्क सहरमा कम्तीमा १४ जनाको ज्यान गएको छ । त्यसमा एकजना दुई वर्षका बालक पनि छन् । आँधीबाट मृत्यु हुनेमा ११ जना भवनहरूका सबैभन्दा तल्लो तलामा डुबेका थिए । पेन्सलभेनियाको फिलडेल्फिया नजिकै तीनजना र कनेटिकटमा एकजनाको निधन भएको थियो ।

न्यूयोर्कका मेयर बिल डे ब्लाजियोले मौसम विज्ञहरूको आलोचना गर्दै उनीहरूको पूर्वानुमान केही मिनेट भित्रै नराम्ररी गलत साबित भएको बताए । उनले मौसमविद्हरूले एक दिनमा ३ देखि ६ इन्चसम्म पानी पर्छ भनेकोमा सेन्ट्रल पार्कमा एक घण्टामै ३.१५ इन्च पानी परेको बताए ।

न्यूयोर्ककी गभर्नरले पनि त्यहाँ नायग्रा फल्स झरनानै खसेको जसरी पानी परेको बताएकी छन् । त्यहाँका बासिन्दाहरूले आफ्नो क्षतिको विवरण लिइरहेका छन् । न्यूयोर्कका सडकहरूमा पानी भरिएको छ भने धेरैतिर रेलसेवा अवरूद्ध छ । कैयौँ उडानहरू रद्द भएका छन् ।