वामदेव गौतमले एमालेका सबै पदबाट राजीनामा दिए

वामदेव गौतमले एमालेका सबै पदबाट राजीनामा दिए



काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले एमालेका सबै पदबाट राजीनामा दिएका छन् । आज पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै उनले पार्टीको उपाध्यक्षको पद र पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन् । उनका स्वकीय सचिव दीपक टमटामार्फत पार्टी कार्यालय सचिव शेरबहादुर तामाङलाई सबै पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन् ।

नेता गौतमले पार्टी अध्यक्ष ओलीलाई पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिले पनि अवलम्बन नगरेको आरोप लगाएका छन् ।

यस्तो छ पत्रः

कमरेड अध्यक्ष नेकपा (एमाले),
केन्द्रीय कार्यालय थापाथली, काठमाडौं ।

विषयः राजीनामा ।

कमरेड, नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट तपार्इं पार्टीको अध्यक्षमा निर्वाचित हुनुभएपछि तपाईंले नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिले पनि अवलम्बन गर्नुभएन । नेपालको संविधान, २०७२ जारी भएपछि पहिलो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७४ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को ‘साझा घोषणा’लाई तपाईं प्रधानमन्त्री हुनुभएपछि आफ्नो कार्यकालभरि त्यसलाई लागू गर्नुभएन ।

तपाईंले गर्नुभएका कतिपय कामहरूलाई पटक पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि तपाईंले आफूलाई सुधार गर्न सक्नुभएन । जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारीका विचार र मान्यता ‘संविधानको सर्वोच्चता’ र ‘कानुनी राज्य’को सिद्धान्तलाई परिपालना गर्नुभएन ।

जननेता मदन भण्डारीको नवीन सोच ‘कम्युनिस्ट पार्टीले जनताको जनादेशको आधारमा राज्यसत्ता संचालन गर्नुपर्छ’ भन्ने मान्यताका विपरीत जनताको अत्यधिक बहुमत झण्डै दुई तिहाइ जनताको जनादेशलाई लत्याउँदै पहिलो पटक २०७७ पौष ५ गते र दोस्रो पटक २०७८ जेष्ठ ७ गते दुई-दुई पटक संविधानविपरीत जनताद्वारा निर्वाचित सदन भंग गर्नुभयो ।

तपाईं पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएपछि पार्टीको राजनीतिक कार्यदिशा, पार्टीको विधान तथा पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता र ‘सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी’लाई पालना गर्नुभएन ।

पार्टीलाई लोकप्रिय बनाउन सरकार गठनको एक वर्षपछि मैले लिखित सुझाव दिएको थिएँ । तपाईंको कार्यशैली जनमुखी बनाउन धेरै पटक व्यक्तिगत रूपमा सुझावहरू पनि दिएा । तर, तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो । आफ्ना समकक्षी कमरेडहरूलाई समेत तपाईंले अवलम्बन गर्नुभएका गलत नीति र विचारअनुसार नचल्दा एकपछि अर्को गरी अपमान गर्ने, कार्यबाही गर्ने र पार्टीबाट निश्कासनसम्म गर्नेजस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृत्ति र शैली अँगाल्नुभयो ।

त्यति मात्र होइन, तपाईंले सम्माननीय राष्ट्रपतिज्यूलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयन गर्न दुरूपयोग गर्नुभयो । म आफैँ संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईंकै गलत विचार, प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकाले आजको मितिमा पार्टीको उपाध्यक्षको पद र पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको छु ।

फेरी पनि तपाईंसँगको चार दशक लामो मित्रताका कारण अब उपरान्त पनि हामी दुईबीचको व्यक्तिगत सम्बन्ध मित्रतापूर्ण रहोस् भन्ने अपेक्षा छ ।

धन्यवाद ।

१८ भदौ २०७८

बामदेव गौतम, ललितपुर म.न.पा.- २५, सैँबु आवास क्षेत्र ।