३ दिनभित्र ४४ लाख मात्रा कोरोनाविरुद्धको खोप ल्याउने सरकारकाे तयारी

३ दिनभित्र ४४ लाख मात्रा कोरोनाविरुद्धको खोप ल्याउने सरकारकाे तयारी



काठमाडौं, २९ भदौ । सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको रणनीति अनुसार यही हप्ताभित्र चीनबाट ४४ लाख मात्रा खोप नेपाल आइपुग्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असोज मसान्तसम्ममा कुन जनसङ्ख्याको एक तिहाइ, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तसम्ममा सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारले योजना बनाएको छ ।

त्यसैअनुसार ४४ लाख मात्रा खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज बेइजिङ जादैछ र आउँदो शुक्रबारसम्म सम्झौता अनुसारको सबै खोप नेपाल ल्याइसक्ने बताइएको छ ।

१८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख मात्रा मोडर्ना खोप ल्याउने टुङ्गो लागिसकेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । ६० लाख मात्रा फाइजरको खोप ल्याउने प्रक्रिया पनि मन्त्रालयले अघि बढाइसकेको बताएको छ ।

नेपालमा कोरोनाविरुद्धको पूरा मात्रा खोप लगाउनेको सङ्ख्या १७.४१ प्रतिशत पुगेको छ भने पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या १९.४५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार पछिल्लो समय कोरोना सङ्क्रमण पुष्टि हुने दरमा कमी आएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या घट्न थालेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २४ हजार ९ सय ५८ रहेको छ । एक साता अघि नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३१ हजार ९ सय ७३ रहेको थियो ।