राष्ट्रसंघको ७६ औं महासभालाई परराष्ट्रमन्त्री खड्काको सम्बोधन- ‘आतंकवाद मानव अस्तित्वको शत्रु’

राष्ट्रसंघको ७६ औं महासभालाई परराष्ट्रमन्त्री खड्काको सम्बोधन- ‘आतंकवाद मानव अस्तित्वको शत्रु’



न्यूयोर्क । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले विश्वव्यापी मानव समुदायका लागि चुनौति बनेको कोभिड- १९ महामारीबाट जनतालाई सुरक्षित बनाउनु नेपालको पहिलो प्राथमिकता रहेको बताएका छन् । संयुक्त राष्ट्र संघको ७६ औ महासभालाई न्युयोर्कमा नेपालको तर्फबाट आज मंगलबार बिहान सम्बोधन गर्नेक्रममा परराष्ट्रमन्त्री खड्काले सो कुरा बताएका हुन् ।

नेपाली जनतालाई कोरोना संक्रमणबाट सुरक्षित बनाउन वर्तमान सरकारले खोपको व्यवस्थापन र खोप लगाउने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी मन्त्री खड्काले दिए । सबै नेपाली जनतालाई आगामी ६ महिनाभित्र खोप लगाईसक्ने लक्ष्यका साथ नेपाल सरकारले कार्ययोजना अघि बढाएको पनि मन्त्री खडकाले बताए ।

कोभिड-१९ को संकट व्यवस्थापन र खोपको व्यापकताका लागि राष्ट्र संघले देखाएको चासो र प्राथमिकताको परराष्ट्रमन्त्री खड्काले प्रसंशा गरे । नेपालले विश्वशान्ति, सहअस्तित्व र समानतामा आधारित सम्बन्ध तथा भाइचाराको नीति अवलम्वन गरेको स्पष्ट गर्दै मन्त्री खड्काले विश्वका विभिन्न मुलुकको शान्ति स्थापना कार्यमा नेपालको योगदान रहेको चर्चा गरे ।

आतंकवाद मानव अस्तित्वको शत्रु भएको उल्लेख गर्दै मन्त्री खड्काले नेपालले आतंकवादको विरोध गरिरहेको बताए । आणविक हातहतियारको होडबाजीले विश्वको शान्ति र सहअस्तित्वमाथि प्रश्न खडा गर्ने भएकोले नेपाल त्यसको विपक्षमा रहेको मन्त्री खड्काले स्पष्ट गरे । अफ्गानिस्तान, लिवियालगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व आफ्नै अन्तरिक विषय भएकाले सोही अनुरुप आपसी समझदारीमा समाधान हुने विश्वास नेपालको रहेको उनले बताए ।

नेपालमा विश्वको सर्बोच्च शिखर सगरमाथा लगायत ८ हजार मिटरभन्दा अग्ला धेरै हिमाल भएकाले पर्यटन गन्तव्यको एक अनुपम देश भएको पनि परराष्ट्रमन्त्री खड्काले सम्बोधनका क्रममा उल्लेख गरे । प्राकृतिक प्रकोप तथा जलवायु परिवर्तनको असर न्यूनिकरणमा नेपालले प्राथमिकता दिएको मन्त्री खड्काले जानकारी दिए । परराष्ट्रमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा हाल अमेरीकाको न्यूयोर्कमा छन् ।