प्रियंका चोपडा भन्छिन्- छालाकाे रङलाई स्वीकारेपछि आत्मविश्वास बढ्यो

प्रियंका चोपडा भन्छिन्- छालाकाे रङलाई स्वीकारेपछि आत्मविश्वास बढ्यो



बलिउडकी सफल अभिनेत्री हुन्, प्रियंका चोपडा । बलिउड हुँदै हलिउडका फिल्म तथा टिभी सिरिजहरूमा समेत छुट्टै पहिचान बनाइसकेकी उनी एक समय छालाको रङका कारण अपमानको सिकार भएको बताएकी छन् । त्यतिखेर उनी सामान्य किशोरी थिइन्, स्टार थिइनन् । अमेरिकाको एक स्कुलमा पढ्दाताका उनलाई सहपाठीले ‘ब्राउनी’ भनेर गिज्याउने गर्थे ।

एक अन्तर्वार्तामा प्रियंकाले भारतीय मिडियालाई भनेकी छिन्, ‘मसँग बसेर खाना खान मन पराउँदैनथे । किनकि, मेरो छालाको रङ गोरो थिएन ।’ त्याे तीतो अनुभवका कारण आफ्नो आत्मविश्वास समेत गुमेको बताउँदै आमाले सम्झाएर मात्र आफू यहाँसम्म आइपुगेको उनले बताइन् । ‘आमाले सम्झाउनुभयो,’ उनले भनिन्, ‘तिमी जस्ती छौ, त्यस्तै सुन्दर छौ । कसैका लागि आफूलाई बदल्नु पर्दैन ।’ विश्वसुन्दरी हुँदै बलिउडमा प्रवेश गरेपछि प्रियंकाले गोरो हुने क्रिमको विज्ञापन गरिन् ।

अमेरिकामा साथीसंगीले जिस्काउँदा आफूले गोरो हुने क्रिम प्रयोग गरेको बताइन् । ‘एक रात विज्ञापन गरेर घर फर्किंदा मैले सोचेँ- म के गर्दै छु ?,’ उनले भनिन्, ‘कसरी झुटो सपना बेच्न सक्छु ? किन मैले आफ्नो रङलाई स्विकार्न नसकेको ? मैले नै यसो गरेँ भने देशका हजारौँ महिलाले क्रिम लगाएर गोरो हुने सपना देख्लान् । जबकि, हामीले आफ्नो छालाको रङलाई सहज रूपमा लिनुपर्छ । त्यसदिनदेखि मैले आफ्नो गहुँगोरो रङलाई स्वीकार गरेँ ।’