अदालतमा न्यायाधीशकै बिचाैलिया छन् : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी

अदालतमा न्यायाधीशकै बिचाैलिया छन् : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी



वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी सार्वजनिक सरोकारका विषयमा अहिले पनि सक्रिय छन् । उमेरले ९५ वर्ष कटे पनि उनी नियमित बार र अदालत आउँछन् । सार्वजनिक सरोकारका मुद्दामा बहस पनि गर्छन् । भण्डारी पहिलो प्रतिनिधिसभा विघटन मुद्दामा बहस गर्दा ‘बाजे वकिल’ भनेर चर्चामा आएका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीले ‘बाजे वकिललाई इजलासमा उभ्याएर तमासा गरे’ भनेका थिए । अहिले भ्रष्टाचार, विकृति, विसंगतिमा फसेको न्यायलय शुद्धीकरणका लागि भइरहेको आन्दोलनमा पनि बयोवृद्ध वरिष्ठ अधिवक्ता भण्डारी उपस्थित भएका छन् । मंगलबार सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीसँगै धर्ना दिएर नेपाल बार एसाेसिएसनको प्रांगणमा सम्बोधन गरेका भण्डारीले न्यायिक शुद्धता र सुधारका लागि आन्दोलनमा आएको बताए । जनतामा न्याय र सक्षम व्यक्तिको हातमा न्यायलय हुनुपर्ने धारणा राखे । औपचारिक कार्यक्रमको सम्बोधनपछि इतिहास बोकेका, आफ्नो जीवनकालमा थुप्रै प्रधानन्यायाधीश फेस गरेका वरिष्ठ अधिवक्ता भण्डारीसँग बार परिसरमा न्युज कारखानाले गरेके कुराकानी

नेपाल बार एसाेसिएसनको आन्दोलनलाई कसरी हेर्नुभएको छ ?
अहिले हामी घर सफा गर्ने, विसंगति विकृति हटाउने आन्दोलन हो । यिनी (चोलेन्द्र) हट्यो भने सुधार सुरू हुन्छ । अरू एक्सपर्ट छन् । सुधारको बाटोमा जान्छ । जंगबहादुरले नेपालमा न्यायको सुरूवात गरे । जुद्धशमशेरको बेलामा पनि न्याय राम्रो थियो । न्याय हाम्रो देशको धरोहर हो । खुंखार राणाकालमा पनि न्याय तलमाथि भएन । अहिले हेर्नुस् त न्याय व्यवस्था । त्यहीँ भएर हामी आन्दोलनमा छौं । जनताको न्याय जनताले मान्ने नेतृत्व भनेर लागेका छौं ।

न्यायाधीशको इजलास बहिष्कारलाई कसरी लिनुहुन्छ ?
न्यायाधीशहरूको बहिष्कार धेरै राम्रो हो । अहिले जनताको नजरमा न्यायाधीश एकदम भ्रष्ट हुँदै गइरहेको छ । असल न्यायाधीशहरू जनताको नजरमा खराब भए । उहाँहरु सुधारका लागि उठ्नुभयो । शुद्धीकरणकै बाटोबाट उहाँहरुको आन्दोलन आएको छ । जायज छ ।

तपाईहरु बार एशोसिएसनको आन्दोलनमा हुनुहुन्छ । अर्कोतिर सेतोपट्टी बाधेर केही कानुन व्यवसायीले प्रधानन्यायाधीशले राजीनामा दिँदैमा समस्या हल नहुने भनिरहेका छन् । यसलाई कसरी लिनुभएको छ ।

राजा ज्ञानेन्द्रले राजगद्दी सडकबाटै छोडे । जनता सार्वभौम हो । जनतालाई हेला गर्ने कही पदमा बाँकी रहन्छ । त्यसैले हामीलाई शुद्धीकरणको निम्ति बाटो तयार गर्न राजीनामा बाहेक विकल्प छैन । छोड्दै छोडेन भने हामी अन्तिम तहसम्म पनि जान तयार छौं । अहिले मर्यादित रूपमा भनिरहेका छौं ।

तर एकातिर प्रधानन्यायाधीशको पक्षमा सेतोपट्टी बाधेर उत्रिए नि ?
अदालतमा बिचौलियाहरू छन् । न्यायाधीशहरूले नै बिचौलिया तयार गरे । ती बिचौलियालाई त छटपटी हुन्छ । असल न्यायाधीश आयो भने सबै खत्तम हुन्छ । त्यसैले सेतोपट्टी बाँध्नेहरु बिचौलिया हुन् । यी न्यायाधीशका गिरोहका मान्छे हुन् ।

तपाईले आफ्नो जीवनकालमा धेरै प्रधानन्यायाधीश देख्नुभयो । अहिलेजस्तो अन्तर्वार्ताबाट सफाइ दिएको, यति धेरै विवादमा परेको, यो तहको आन्दोलन भएको इतिहास छ ?
मेरो जीवनकालमा हरिप्रसाद प्रधान (पहिलो प्रधानन्यायाधीश) को जमाना सुरुवातदेखि विश्वनाथजीको पुस्तासम्म यति प्रधानन्यायाधीश भए एउटा खोट देखाउन सक्नुहुन्न । २०४६ सालपछि केदारजीहरू, अनुपजीहरू भए । तर सुधार गरेको रामप्रसाद श्रेष्ठले हो । राम्रो पनि हो सुधारेको पनि हो । न्यायाधीशहरू धेरै राम्रो राम्रो थिए । खै हामीले आन्दोलन नै गरेनौं । हाम्रो यस्तो इतिहासलाई अहिले उहाँ (चोलेन्द्र)ले खराब बनाउने, धुमिल पार्दै हुनुहुन्छ । रोम जलिरहेको बेला निरो बासुरीको धुनमा मग्न रहेको अवस्थाजस्तै न्याय व्यवस्था अस्त व्यस्त हुँदा, जनताले अन्याय र दु:ख पाइरहेको छ । तर उनी संवैधानिक नियुक्ति भनिरहेका छन् । संवैधानिक नियुक्तिको कर्तव्य हुँदैन र ?

प्रधानन्यायाधीशले सम्मानजनक रूपमा जाने पनि भन्नु भएको छ नि ?
म पनि कसैलाई असम्मान गर्ने पक्षमा छैन । कसैले गल्ती गर्छ भने उसको कमजोरी हो । सम्मानपूर्वक बहिगर्मन नै चाहन्छन् भने म त्यसलाई स्वागत गर्छु । हामी सिस्टम र न्यायिक नेतृत्वलाई सुधार गर्न गइरहेका छौं । उनी छोड्दिन्छ उत्तम भयो । त्यहीँ नै स-सम्मान होइन र ? सम्मान भनेको के छोड्नु हो ।

एमाले अध्यक्ष केपी ओलीले त प्रधानन्यायाधीशमात्र होइन परमादेश फैसला गर्ने सबै न्यायाधीशले राजीनामा दिनुपर्छ भन्नुभएको छ । तपाईले नि बहस गर्नुभएको थियो, कसरी लिनुभएको छ ?
केही जनता ओलीको पक्षमा छन् । एउटा गुट छ । तर म दावाका साथ भन्छु संसद् विघटनसम्बन्धी दुइटा फैसला भए नि पछिल्लो फैसलाजस्तो संसारमा कुनै फैसला छैन । एक-एक बुँदामा महत्वपूर्ण कुराहरू लेखिएको छ । ९५ वर्षको मेरो जीवनकालमा यस्तो उत्तम फैसला देखेको छैन । अमेरिका, बेलायत र भारतको फैसला पढेको छु । तर यो फैसला मैले उत्तम भनिरहेको छु । यति राम्रो फैसला छ । त्यस्तो फैसलालाई एउटा प्रधानमन्त्री भइसकेको पूर्वप्रधानमन्त्री जस्तो मान्छेले दोष लगाउने, हरे राम राम । उनले राजनीतिक प्रश्न उठाउलान । तर फैसला र गर्ने न्यायमूर्ति हाम्रो धरोहर हुन् ।

अबको निकास के हो त ?
प्रधानन्यायाधीशले राजीनामा दिने एकमात्र विकल्प हो । जनतामा न्याय, सक्षम व्यक्तिको हातमा न्यायालय हुनुपर्छ । अहिले देशमा न्याय नै छैन । न्याय छिटो हुन्छ । तर आज बिचरा गरिबहरू १०/१० वर्ष तारिखमा बसेका छन् । हिजो मलाई भेटेर एउटा गरिबले के भन्यो भने, ‘हजुर तारिख धाउँदा धाउँदा मर्न लागे, सबै सम्पत्ति पनि सकियो । न्याय पाइन ।’ पाप लाग्छ गरिबहरूको । न्याय छँदै छैन अहिले । सक्षम व्यक्तिको हातमा गयो भने न्यायालय शुद्धीकरण हुन्छ, जनताले न्याय पाउँछन् । त्यसका लागि प्रधानन्यायाधीशले राजीनामा जरुरी छ ।

प्रधानन्यायाधीशलाई के भन्न चाहनुहुन्छ ?
तुरुन्त राजीनामा दिनुस् । शुद्धीकरणको बाटो खोलिदिनुस् । उहाँ हट्नुभयो भने हामी शुद्धीकरणको बाटोमा जान्छौं । न्युट्रलमा जान्छौं ।

तपाईहरूको आन्दोलन पार लाग्छ त ?
आन्दोलन जारी रहन्छ । वार पारमा लागेका छौं । पार लाग्छ ।