पार्टी राजनीतिमा कहिल्यै हारेनन् तोयानाथ : ८७ वर्षमा पाँचौ पटक महाधिवेशन प्रतिनिधि

पार्टी राजनीतिमा कहिल्यै हारेनन् तोयानाथ : ८७ वर्षमा पाँचौ पटक महाधिवेशन प्रतिनिधि



इलाम । नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति सदस्यमा सबैभन्दा बढी मत पाएका भट्टराईले महाधिवेशन प्रतिनिधिमा आफ्नो क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुनिए ।

८७ वर्षीय भट्टराईले महासमिति सदस्यमा ४६३ मत र महाधिवेशन प्रतिनिधिमा ३६९ मत पाएका छन् । कांग्रेस जिल्ला अधिवेशनमा पाएको मतले आफूलाई उर्जा पैदा भएकाे उनले बताए ।

‘यो उमेरमा आएर पनि जुन मत पाएको छु त्यसले ममा उर्जा थपेको छ,’ उनले अघि भने, ‘यसले त मेरो आयु नै लम्ब्याए जस्तो लाग्छ ।’

भट्टराई कांग्रेसको आठौँ महाधिवेशन देखि महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी हुँदैछन् । भट्टराईले यसअघिका चारवटा महाधिवेशन नजिकबाट नियालेका छन् । अब हुने महाधिवेशनको पनि उनी साक्षी हुनेछन् ।

भट्टराईले पार्टीको आन्तरिक चुनावमा कहिल्यै हार ब्यहोर्नु परेको छैन । तर, संसदीय राजनीति भने उनलाई फाफेन । २०४९ मा भएको निर्वाचनमा उनी इलाम क्षेत्रनम्बर १ बाट चुनाव भिडे । तर, हार ब्यहोर्नुपर्‍याे । ४९ मा भएको निर्वाचनमा साविकको मेची अञ्चलभरी कांग्रसका कुनै उम्मेदवारले चुनाव नजितेको भट्टराई सुनाउँछन् । झलनाथ खनालसँग हारेका भट्टराई भने कांग्रेसका उम्मेदवार मध्ये सबैभन्दा बढी मत ल्याउने उम्मेदवार भए । १९ हजार हारहारी मत आएको उनले बताए ।

२०५१ को मध्यावधि निर्वाचनमा भने इलामलाई तीन निर्वाचन क्षेत्रमा विभाजन गरियो । १ नम्बर निर्वाचन क्षेत्रमा फेरि भट्टराई, २ मा कुलबहादुर गुरुङ र ३ मा बेनुप प्रसाइले टिकट पाए । दोस्रो पटक भने भट्टराई झिनो मतान्तरले मात्रै पराजित भए । मध्यावधि निर्वाचनमा भने २१० मतले मात्रै पराजित भए । मध्यावधि निर्वाचनमा भट्टराई विरुद्ध बागी परेको थियो ।

८ वैशाख १९९८ मा बाबु गजाधर भट्टराई धनकुमारी भट्टराईको काेखबाट जन्मिएका भट्टराई विद्यार्थी जीवनबाटै राजनीतिमा सक्रिय भएका हुन् ।

पञ्चायती व्यवस्थाले बाबु गजाधर मट्टराईलाई पक्राउ गरेपछि आफूमा राजनीतिक चेत सुरु भएको उनी बताउँछन् । सानै उमेरदेखि कांग्रेससँग जोडिएका भट्टराईले पार्टीको तर्फबाट पहिलो पटक बुथ प्रतिनिधिको जिम्मेवारी पाए ।

२०१५ को आमनिर्वाचनमा कांग्रेसको तर्फबाट माबुमा बुथप्रतिनिधि खटिए । त्यसपछि उनको राजनीतिक जीवन सुरु भयो । उनी २०१९ मा प्रधानपञ्च निर्वाचित भए ।

२०३० मा जिल्ला पञ्चायतको सभापति भए । पञ्चायती शासनकै बेला उनी भूमिगत रुपमा रहेको पार्टीको जिल्ला समापति पनि बने । जनमत संग्रहको घोषणा भएपछि भट्टराई बहुदलको पक्षमा खुलेर लागे ।

बहुदलीय व्यवस्था र पार्टीको गतिविधिमा संलग्न हुँनथालेपछि भट्टराई २०४२ सालमा आठ महिना जेल परे । जेलमानै बिरामी भएपछि आठ महिनामा नै जेलमुक्त भए ।

२०४६-०४७ को आन्दोलन सफल भएपछि उनी संसदीय राजनीतिमा जान चाहान्थे । तर, उनको त्यो चाहाना भने पूरा भएन । संसदको चुनाव जित्न नसकेकोमा उनी खासै दु:खी भने छैनन् ।