दुर्लभ जेठामनकाे ‘जोवन बैना देऊ’ बोलको कौडा भाका सार्वजनिक

दुर्लभ जेठामनकाे ‘जोवन बैना देऊ’ बोलको कौडा भाका सार्वजनिक



खोटाङ । साहित्य तथा संगीत स्रष्टा दुर्लभ जेठामन (हिरनकुमार राई)को लोकभाका ‘जोवन बैना देऊ’ बोलको लोकभाका सार्वजनिक भएको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका-२ ताम्लिछा प्याखोलाका दुर्लभ जेठामनले पश्चिमेली कौडा लोकभाकाको म्युजिक भिडियो बजारमा ल्याएका हुन् ।

कौडा लोकभाकाको म्युजिक भिडियो काठमाडाैंमा आयोजित कार्यक्रममा राष्ट्रिय गीतका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला)ले विमोचन गरेका छन् । पृथक् स्टुडियो अनामनगरमा रेकर्ड गरिएको गीतमा दुर्लभ जेठामन र ‘द भ्वाइस अफ नेपाल सिजन-३’को उपविजेता तारा श्रीष मगरको स्वर छ । कुमारी बाँठा मगर (मनु)ले लेखेको गीतमा स्वयं गायक दुर्लभ जेठामनको संगीत समेटिएको छ ।

म्युजिक भिडियोमा अनुप राना, प्रिया घर्ती मगर र अञ्जली गुरुङको अभिनय देख्न सकिन्छ । निम संगीतको एरेञ्ज र केशु पुन मगरको निर्देशनमा म्युजिक भिडियो तयार पारिएको हो । गीतका लागि एड्भेञ्चर इन्टरटेनमेन्टले दृश्यानिर्माण, दुर्गा पौडेलको छायांकन र नवीन घर्ती मगरको सम्पादन छ ।

म्युजिक भिडियो विमोचनका क्रममा राष्ट्रिय गीतका रचनाकार व्याकुल माइलाले पूर्वेली संस्कार र संस्कृतिमा हुर्किएका दुर्लभ जेठामनले जोखिम मोलेर पश्चिमेली लोकभाका कौडाको गीत तयार पारेको प्रतिक्रिया दिए । दुई दशकदेखि साहित्यमा दुर्लभ जेठामनले परिचित राई गीत, संगीत र गायनमा पनि उत्तिकै क्रियाशील छन् ।