काभ्रे । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा बनेपास्थित जिउँदो सहिद नामले चिनिनुभएका जनआन्दोलन २ का घाइते मुकेश कायस्थको निवासमा पुगेका छन् ।
शर्माले कायस्थको परिवार र आफन्तसँग मुकेशको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । महामन्त्री शर्माले कांग्रेसको महामन्त्री पदको जिम्मेवारी गहिरो अनुभूति गर्न र इमान्दार ढंगले काम गर्न उनै मुकेश कायस्थ र मुकेशलाई जन्म दिने माता पितालाई छोएर सपथ खान आएको जनाए ।
विश्वप्रकाश निवासमा आएपछि आमा मीराले सरकारले गरेको सम्मान र सहयोगप्रति आफु खुसी भएको भन्दै मुकेश जस्ता घाइते सहिदको सम्झनामा प्रतिष्ठान निर्माण गरिदिन अनुरोध गरे । बाबु कृष्णप्रसादले सबै दल मिलेर मुलुक समृद्ध बनाउन अनुरोध गरे ।
दोस्रो जनआन्दोलनको क्रममा २०६२ चैत्र ७ गते कञ्चटमा गोली लागेर घाइते भएका मुकेश त्यसयता अर्धचेत छन् । ११ महिना वीर अस्पताल, ५ महिना डा. उपेन्द्र दवकोटाको न्यूरो अस्पताल, अन्नपूर्ण अस्पतालमा उपचार पछि ५ महिना अनामनगरमा स्पर्ष थेरापी पनि गरिएको थियो । सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया