उपत्यकामा आजबाट जोर–बिजोर

उपत्यकामा आजबाट जोर–बिजोर



काठमाडौं । कोभिडको नयाँ भेरियन्टको संक्रमण उच्च भएपछि सरकारले झनै कडाइको नीति लिँदै आज रातिदेखि उपत्यकाका सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बिहीबार बसेको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम कम नभएसम्मका लागि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेका हुन् । तीनवटै प्रमुख जिल्ला अधिकारीहरूले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी निजी तथा सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गर्ने र जोरबिजोरलाई कडाइका साथ लागू गरिने निर्णय गरेका छन् ।

सरकारले नेपाल कोभिड–१९ को संक्रमण फैलिन थालेपछि २०७६ साल चैतमा लकडाउन गर्दै अत्यावश्यकबाहेक सबै किसिमका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो । करिब ६ महिना सवारी साधनमाथि सञ्चालनमा रोक लगाएपछि लकडाउन खुकुलो बनाउँदै सरकारले जोरबिजोर प्रणालीमा सवारीसाधन सञ्चालनमा ल्याएको थियो ।

गत वर्ष कोभिड संक्रमण पुनः फैलिएपछि सरकारले पुनः सवारीसाधन सञ्चालनमा कडाइ गर्दै जोरबिजोर प्रणाली लागू गरेको थियो । यो वर्ष पनि संक्रमण दर उच्च देखिन थालेपछि सरकारले पुनः सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको हो । सिडियोहरूको निर्णयअनुसार अब जिल्लाभित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्नुपर्नेछ ।

सवारी साधनमा मास्क अनिवार्य गरिएको छ । सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सचालकले बढीमा ५ रुपैयाँ लिई मास्क उपलब्ध गराउनुपर्नेछ । औषधि, स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन, ग्यास पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, पशुपक्षीका दाना, अन्डा फलपूmल, खाद्यान्न, तरकारी, माछामासु बोकेका सवारीसाधनको हकमा भने जोरबिजोर प्रणाली लागू नहुने जनाइएको छ ।

तीन जिल्ला सिसियोहरूको बैठकले डिपार्टमेन्ट स्टोर, सपिङ मललगायतमा अधिकतम २० जनाभन्दा बढी प्रवेश नदिने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ । सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड बोक्नुपर्ने मन्त्रिपरिषद्को निर्णयलाई कडाइ गरिने भएको छ ।