भूगर्भ विभागका महानिर्देशकसहित १८ जना विरुद्ध मुद्दा

भूगर्भ विभागका महानिर्देशकसहित १८ जना विरुद्ध मुद्दा



काठमाडौँ । खनिज पदार्थ उत्खननमा अनियमितता गरेको आरोपमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे र उपमहानिर्देशक जयराज घिमिरेसहित १८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक घिमिरे, उपमहानिर्देशक तथा प्रवक्ता जयराज घिमिरे तथा ९ वटा कम्पनीका सञ्चालकसहित १८ जना विरुद्ध १ अर्ब २४ करोडभन्दा बढी रकमको विगोसहित आज (बुधबार) विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

चुनढुङ्गा उत्खननमा अनियमितता भएको आशङ्कामा अख्तियारमा उजुरी परेपछि अनुसन्धान अघि बढेको थियो । खानी सञ्चालकसँग मिलेर कर्मचारीले प्राकृतिक स्रोतसाधन दोहनमा सघाएको अख्तियारको ठहर छ ।

अख्तियारका अनुसन्धान अधिकृतहरू अहिले मुद्दा लिएर विशेष अदालतमा पुगेका छन् । अदालत स्रोतका अनुसार अहिले फाइल रुजु गर्ने क्रममा रहेको छ । आयोगले मुद्दा दर्तापछि विवरण सार्वजनिक गरिने जनाएको छ ।