कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिबारे के छ विधानमा व्यवस्था ?

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिबारे के छ विधानमा व्यवस्था ?



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेका छन् । कार्यसम्पादन समिति गठनकै लागि शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । भर्चुअल हुने केन्द्रीय समिति बैठकमा कार्यसम्पादन समिति गठनको एउटा मात्रै एजेण्डा छ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति ४६ सदस्यीय हुनेछ । विधान अनुसार पदाधिकारी र ३१ केन्द्रीय सदस्य कार्यसम्पादन समितिका पदेन सदस्य हुनेछन् । त्यस्तै पार्टी प्रवक्ता र संसदीय दलको नेता पनि पदेन सदस्य हुने व्यवस्था छ ।

अहिले कांग्रेसमा १३ पदाधिकारी महाधिवेशनबाट निर्वाचित भएका छन् भने कोषाध्यक्ष मनोनित हुन बाँकी छ । त्यस्तै प्रवक्ता पद पनि रिक्त छ । कांग्रेस संसदीय दलको नेता सभापति देउवा स्वयम् नै भएकाले कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति ४६ सदस्यीय हुनेछ ।

कार्यसम्पादन समितिको काम के हो ?

केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकेका बेला केन्द्रीय समितिले गर्नुपर्ने काम कार्यसम्पादन समितिले गर्न सक्ने कांग्रेस विधानको प्रावधान छ । तर कार्यसम्पादन समितिले गरेका निर्णयहरु केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नुपर्नेछ ।

विधानमा कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने व्यवस्था छ । अहिले १४८ केन्द्रीय सदस्य रहेका छन् । महाधिवेशनबाट १३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने सभापतिमा दोस्रो बढि मत पाउने स्वतह केन्द्रीय सदस्य हुने विधानको व्यवस्था अनुसार डा शेखर कोइराला केन्द्रीय सदस्य भएका हुन् । ३३ जना सभापतिले मनोनित गर्न पाउने सुविधा छ । जसअनुसार १३ जना केन्द्रीय सदस्य मनोनित भइसकेका छन् ।

केन्द्रीय कार्यसम्पादन समितिको गठन :

(१) केन्द्रीय कार्यसमितिको सभापति, उप–सभापति, महामन्त्री, कोषाध्यक्ष र सह–महामन्त्री,
पदेन ।
(२) सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखी
केन्द्रीय कार्यसम्पादन समितिका लागि एकतीस जना सदस्य कार्यसमितिको बैठकमा
प्रस्ताव गर्नेछ । उक्त प्रस्तावलाई कार्यसमितिको बहुमतले अनुमोदन गर्नेछ ।
(३) संसदीय दलको नेता केन्द्रीय कार्यसम्पादन समितिको पदेन सदस्य हुनेछ ।
(४) केन्द्रीय कार्यसमितिका प्रवक्ता ।
(५) केन्द्रीय कार्यसम्पादन समितिको बैठक प्रत्येक महिनामा कम्तिमा एक पटक बस्नेछ ।

२४. केन्द्रीय कार्यसम्पादन समितिको काम, कर्तव्य र अधिकार :
(१) कार्यसमितिको एउटा बैठक र अर्को बैठककोबीचमा कार्यसमितिले गनुपर्ने काम केन्द्रीय
कार्यसम्पादन समितिले गर्नेछ ।
(२) कार्यसम्पादन समितिले आफ्नो निर्णय कार्यसमितिको बैठकमा पेस गरी अनुमोदनका
लागि प्रस्तुत गर्नेछ ।
(३) पार्टीका केन्द्रीय विभागको कामको समीक्षा गर्नेछ ।
(४) समय–समयमा संसदीय दलको कार्यसमिति, संसदीय दलका विषय समितिका
संयोजकसंग संयुक्त रूपमा विषयगत छलफलको आयोजना गर्नेछ ।