एमालेका पूर्वमाओवादी नेता सामूहिक राजीनामा दिने मनस्थितिमा

एमालेका पूर्वमाओवादी नेता सामूहिक राजीनामा दिने मनस्थितिमा



सुभाष साह

काठमाडौं । उचित जिम्मेवारी र मर्यादाक्रमलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा रहेका पूर्वमाओवादी नेतामा नेतृत्वप्रति असन्तुष्टि बढेको छ । उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै पूर्वमाओवादी नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसमक्ष असन्तुष्टिसमेत जाहेर गरिसकेका छन् । अध्यक्ष ओलीले आफूहरूका कुरा नसुनेको अवस्थामा पूर्वमाओवादी नेता पदबाट सामूहिक राजीनामा दिने मनस्थितिमा पुगेका छन् । यद्यपि, तत्काल एमाले नछाड्ने निष्कर्षमा पनि उनीहरू पुगेका छन् ।

एमालेको १०औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा स्थायी कमिटीका सदस्य नेतृत्वले आफ्ना कुरा नसुनेको अवस्थामा सामूहिक राजीनामा दिने निष्कर्षमा पुगेका हुन् ।

एमाले उपाध्यक्ष रामबहादुर थापा, सचिवद्वय टोपबहादुर रायमाझी र लेखराज भट्ट, स्थायी कमिटी सदस्यद्वय मणि थापा र प्रभु साह राजीनामा दिने निष्कर्षमा पुगेको स्रोतको दाबी छ । उनीहरूसँगै केही केन्द्रीय सदस्य पनि राजीनामा दिने मनस्थितिमा पुगेको स्रोतको भनाइ छ ।

‘पार्टीमा हामीलाई ठोस जिम्मेवारी दिइएको छैन । दिइएको जिम्मेवारीअनुसार पनि काम गर्न पाएका छैनौं । पदीय मर्यादाक्रमसमेत मिलेको छैन । हामीभन्दा जुनियरलाई माथि राखेर हामीलाई अपमान गरिएको छ । पूर्वमाओवादीबाट एमालेमा आएका हामीलाई सोपिसका रूपमा मात्रै राखिएको छ । यसरी हेपिएर बस्नुभन्दा आफ्नो जिम्मेवारीबाट राजीनामा दिनु उचित हुने हाम्रो निष्कर्ष हो,’ असन्तुष्टमध्येका एक पदाधिकारीले भने ।

पदबाट राजीनामा दिने निष्कर्षमा पुगिसकेका उनीहरूले पार्टी भने तत्काल नछोड्ने जनाएका छन् । तत्कालका लागि एमालेमै बस्ने तर अहिलेको जिम्मेवारीबाट राजीनामा दिनेमा सबैको एकमत रहेको छ ।

‘पार्टी अध्यक्ष केपी शर्मा ओली अहिले कोरोना संक्रमित हुनुभएकाले छलफल गर्न पाएका छैनौं । पार्टी अध्यक्षसँग आगामी दिनमा हुने छलफलबाट हाम्रो आगामी यात्रा तय हुने छ, माग पूरा नभएको अवस्थामा हामी सबै जना आ–आफ्नो जिम्मेवारीबाट राजीनामा दिन्छौं,’ असन्तुष्ट ती पदाधिकारीले भने ।

उपाध्यक्षमा निर्वाचित थापा तत्कालीन नेकपाको सचिवालयमा रहेका थिए । तर, तत्कालीन नेकपाको सचिवालयमा नरहेका त्यसबेलाका स्थायी कमिटी सदस्यद्वय (हाल एमाले उपाध्यक्षद्वय) युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यभन्दा वरीयतामा तल राखिएकोमा थापाको असन्तुष्टि छ । उनलाई अहिलेसम्म पार्टीले ठोस जिम्मेवारीसमेत दिएको छैन ।

थापाले आफूनिकटसँग यो विषयमा पटकपटक छलफल गरेको र राजीनामा दिनु नै राम्रो हुने निष्कर्ष सुनाएको स्रोतको भनाइ छ । थापा यसअघि बाग्मती प्रदेशको इन्चार्ज रहेका थिए । १०औं महाधिवेशनपछि भने उनलाई कूटनीतिक र राष्ट्रिय सुरक्षाको संयोजनको जिम्मेवारी दिइएको छ ।

सचिव रायमाझीले पनि आफूभन्दा जुनियरलाई माथिल्लो वरीयतामा राखेर आफ्नो अपमान गरिएको गुनासो गर्दै आएका छन् । रायमाझीले महाधिवेशनमा उपाध्यक्षको दाबी गरेका थिए । तर, सहमतिको नाममा उनलाई सचिव बनाइएको थियो ।

आफू स्वबियू सभापति हुँदा विद्यार्थी राजनीतिमा समेत नलागेका केही नेतालाई पदीय मर्यादाक्रममा माथि राखिएकोमा उनको चर्काे असन्तुष्टि छ ।

महासचिव शंकर पोखरेलदेखि उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल आफूभन्दा पदीय मर्यादाक्रममा माथि रहेकोमा सचिव रायमाझीले अपमानित महसुस गरिरहेका छन् । एमालेमा सचिव रायमाझीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको प्रमुख तथा सम्बद्ध संगठनको इन्चार्जको जिम्मेवारी पाएका छन् ।

‘पहिलापहिला सार्वजनिक कार्यक्रममा समेत अध्यक्ष ओलीले मलाई लाने गर्थे, सम्बोधन गर्न समय पनि दिन्थे तर अहिले कुनै प्रकारको सोधखोज नै छैन । अहिले त मभन्दा कनिष्ठलाई माथि राखेर हदैसम्मको अपमान गरिएको छ,’ सचिव रायमाझीले आफू निकटका नेतासँग गुनासो पोख्ने गरेका छन् ।

यस्तै, अर्का सचिव लेखराज भट्टको समस्या पनि उस्तै छ । सुदूरपश्चिम प्रदेशको इन्चार्ज रहेका भट्टले आफूले जिम्मेवारीअनुसारको काम गर्न नपाएका गुनासो गरिरहेका छन् । हालै सम्पन्न जिल्ला अधिवेशनका क्रममा आफ्नो भनाइ कतै सुनुवाइ नभएको उनको गुनासो रहेको छ ।

‘सुरुमै सेटिङ गरेर जिल्ला कमिटीको घोषणा गर्छन् । मेरो सल्लाह नै लिँदैनन, मैले दिन खोजे पनि लागू हँुदैन । म त नाम मात्रैको प्रदेश इन्चार्ज भएको छु, यस्तो इन्चार्जको के काम ? पूर्वमाओवादीका कुनै नेतालाई जिल्लाको नेतृत्वमा आउनै दिँदैनन्,’ सचिव भट्टले गुनासो गर्ने गरेका छन् ।

स्थायी कमिटी सदस्यद्वय मणि थापा र प्रभु साहको समेत यस्तै गुनासो रहेको छ । थापा अहिले एमालेमा भूमि व्यवस्था विभागको प्रमुख र साह प्रदेश २ को सह–इन्चार्जको जिम्मेवारीमा छन् ।

तत्कालीन नेकपाको स्थायी कमिटीमा रहेका मणि थापाले महाधिवेशनको बेला सचिवमा दाबी गरेका थिए । तर, महाधिवेशनबाट सचिवसमेत हुन नसकेका थापा जिम्मेवारी बाँडफाँटमा समेत राम्रो जिम्मेवारी नपाएको गुनासो गर्छन् ।

यस्तै, साहले समेत सचिवको दाबी गर्दै आएका थिए । तर, सचिव बन्ने उनको सपना पूरा हुन सकेन । उनी पछिल्ला दिनमा आफूले राम्रो जिम्मेवारी नपाएको गुनासो गर्दै आएका छन् । मधेस प्रदेशको इन्चार्ज हुनुपर्ने माग उनको भए पनि ओलीले सह–इन्चार्ज बनाए । पोलिटब्युरो सदस्य रहेका अन्य नेतालाई समेत मधेस प्रदेशको सह–इन्चार्ज बनाएर आफ्नो अपमान गरिएको गुनासो साहले आफूनिकटका नेतासँग गर्ने गरेका छन् ।

पछिल्लो केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले प्रदेश कमिटीको पदाधिकारी प्रस्ताव गरेका थिए । सोही प्रस्ताव बैठकले पारित ग¥यो । तर, प्रदेश पदाधिकारीमा पूर्वमाओवादी समूहका नेतालाई जिम्मेवारी नदिएको र जिल्ला अधिवेशनबाट समेत पूर्वमाओवादी समूहका नेतालाई नेतृत्वमा आउन नदिएको भन्दै उनीहरू अध्यक्ष ओलीबाट असन्तुष्ट छन् ।

यो समाचार हामीले राजधानी दैनिकबाट लिइएका हौं ।