केपी ओलीमाथि कारबाहीको माग गर्दै जिप्रका भक्तपुरमा उजुरी

केपी ओलीमाथि कारबाहीको माग गर्दै जिप्रका भक्तपुरमा उजुरी



पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीमाथि कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ताको तयारी गरिएको छ । कोरोना संक्रमण फैलाएको आरोपमा ओलीमाथि कारवाहीको माग गर्दै उजुरी दर्ता गर्न लागिएको हो ।

अभिजित अधिकारी र वीरेन्द्र मडैले ओलीविरुद्ध कारवाहीको मागसहित उजुरी दर्ता गराउन लागेका हुन् । कोभिड पोजिटिभ देखिएर पनि आफूलाई आइसोलेट नगरी सार्वजनिक कार्यक्रममा सहभागी भएर संक्रमण फैलाएको उनीहरुको आरोप छ ।

जिल्ला प्रशासन कार्यालयमा दर्ताका लागि लगिएको उजुरीमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाहीको माग गरिएको छ । उजुरीकर्ताले एमालेको भातृ संगठन युवा संघले बालकोटमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएर हुलहुज्जत गरी ओलीले आफूलाई कोरोनाको सामान्य संक्रमण भएको भनी भाषण गरेको र त्यसले अन्य व्यक्तिलाई संक्रमण फैलाउने कार्य गरेको जिकिर गरेका छन् ।

संक्रामक रोग ऐन, २०२० को दफा ३ मा ऐन उल्लंघन गर्नेलाई एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ । ऐनले यसअन्तर्गत कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।