अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश प्रमुख ताओबीच वार्ता

अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश प्रमुख ताओबीच वार्ता



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ् ताओबीच भिडियो वार्ता भएको छ। सत्तारुढ दलहरुबीच मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) पास गर्ने सहमति भइसकेपछि चिनियाँ विदेश विभाग प्रमुख सङ् ताओ र माओवादी केन्द्र अध्यक्ष प्रचण्डबीच भिडियो वार्ता भएको हो । यसलाई राजनीतिक वृत्तमा अर्थपूर्ण ढंगले हेरिएको छ ।

वार्तामा दुई देशको पारस्परिक हितबारे कुराकानी भएको जनाइएको छ । चीन र नेपाल पहाड र नदीले जोडिएका मित्रवत् छिमेकी र विकास साझेदार भएकाले साझा भविष्य खोज्नेमा दुबै नेता सहमत भएको जनाइएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका अनुसार सङले कुराकानीमा चिनियाँ राष्ट्रपति सी चिनफिङको अक्टोबर २०१९ मा भएको ऐतिहासिक नेपाल भ्रमण र त्यसबेला भएका सम्झौता कार्यान्वयनमा जोड दिइएकाे छ । चिनियाँ पक्ष नेपालसँग विगतमा शीर्ष तहमा भएका सहमतिअनुसार सम्बन्धलाई अझै विकसित गर्न मिलेर काम गर्न चाहेको सङले प्रष्ट्याइएकाे छ ।

चिनियाँ नेता सङले चीनले नेपालका राजनीतिक दलहरूसँग पारस्परिक राजनीतिक विश्वासका आधारमा परम्परागत सम्बन्धलाई अझै गहिरो बनाउन चाहेको बताए । नेपालसँग बीआरआईको फ्रेमवर्क भित्र रहेका प्रमुख परियोजनालाई व्यवहारिक कार्यान्वयनमा लैजान चीनले जोड पनि दिएको छ ।

सो अवसरमा चीनका विदेशमन्त्री तहका नेता सङ​ले प्रचण्डलाई पार्टी अध्यक्षमा पुनः निर्वाचित भएकोमा बधाई दिइएका थिए। चिनियाँ नेता सङ ताओसँग भएको भिडियो कुराकानीबारे प्रचण्डको सचिवालयले भने कुनै जानकारी गराएको छैन।