कांग्रेस कार्यसम्पादन समिति बैठक : एमसीसी पास गर्ने विषयमा नेताहरू एकमत

कांग्रेस कार्यसम्पादन समिति बैठक : एमसीसी पास गर्ने विषयमा नेताहरू एकमत



काठमाडौं, २७ माघ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना संसदद्बारा पारित गर्नुपर्ने विषयमा नेताहरू एकमत देखिएका छन् ।

यससँगै गठबन्धनको मतलव नराखी एमसीसी पारित गर्नुपर्ने विषयमा कांग्रेस अघि बढ्ने भएको छ । बैठकमा पूर्वअर्थमन्त्री समेत रहेका डा. रामशरण महतले एमसीसी परियोजना बारे विस्तृतमा चर्चा गरेका थिए ।

प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले संक्षेपमा एमसीसी बारे लिखित सामग्री डा. महतसँग मागेको बैठकमा सहभागी नेता डा. शशांक कोइरालाले बताए । ‘एमसीसी विद्युत र सडकका लागि हो र यो कुरा हामीले जनमानसमा भन्नुपर्छ भन्दै डा. रामशरण महतले लामो विवरण राख्नु भयो । उहाँले भन्नुभयो कि, यो हामीले लिनुपर्छ । त्यसपछि सभापतिजीले मलाई संक्षेपमा यसबारे लेखेर दिनु, साथीहरूसँग कुरा गर्छु भन्नुभयो’, कोइरालाले भने ।

बैठकमा डा. कोइरालाले गठबन्धनसहित कांग्रेस निर्वाचनमा जान नहुने धारणा पनि राखेका छन् । भ्रातृ र शुभेच्छुक संगठनको महाधिवेशन भने केहीको स्थानीय तह निर्वाचनअघि र केहीको पछि गर्ने कुरा भएको छ ।