एमसीसीले बढायो शीर्ष नेताहरुको दौडधुपः के सरकारले संसदबाट अनुमोदन गर्ला त एमसीसी ?

एमसीसीले बढायो शीर्ष नेताहरुको दौडधुपः के सरकारले संसदबाट अनुमोदन गर्ला त एमसीसी ?



काठमाडौं । यो साता प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको दौडधुप बढेको छ । यो दौडधुप बढाएको हो– अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले ।

गत आइतबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा एमसीसी अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएपछि दौडधुपको गति बढेको हो ।

एमसीसीको अध्यक्ष अमेरिकी विदेशमन्त्री रहने गर्छन् । वहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले संयुक्त रुपमा कूटनीतिक मर्यादा विपरीत अर्को देशको विदेशमन्त्रीलाई सम्बोधन गरी लेखेको पत्र बाहिरिएपछि निकै आलोचना पनि भयो ।

आलोचना यसकारण झन् बढी भयो किनभने प्रचण्डले उक्त पत्र नपठाएको दाबी गर्दै आएका थिए । सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेसले नै उक्त पत्र सार्वजनिक गरेपछि प्रचण्डलाई राजनीतिक र कूटनीतिक रुपमा अप्ठेरो अवस्थामा पुर्‍यायो ।

पत्रमा देउवा र प्रचण्डले एमसीसी संसदबाट अनुमोदन गर्न थप समय उपलब्ध गराउन अनुरोध गरेका थिए । त्यति मात्र होइन उनीहरुले २०२२ फ्रेब्रुअरी २९ भित्र एमसीसीलाई संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता पत्रमा गरेका थिए ।

एमसीसीका विषयमा सत्तारुढ दलहरुबीच दूरी बढीरहेको बेला देउवा र प्रचण्डले लेखेको पत्र सार्वजनिक भएको थियो । यसले सत्तारुढ दलहरुबीच झन् दुरी बढाइदियो ।

‘प्रम देउवा र अध्यक्ष क.प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसीसी कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ । पार्टी दृढ छ, यथास्थितिमा यो संझौता स्विकार गरिने छैन,’ पत्र सार्वजनिक भए लगत्तै माओवादी नेता नारायणकाजी श्रेष्ठले गरेको यो ट्वीटले सत्तारुढ गठबन्धनबीच एमसीसीले दुरी बढाएको पुष्टी गर्छ ।

यसको केही दिनअघि मात्र केही मिडियाले प्रधानमन्त्री ‘देउवाले एमसीसी संसदबाट अनुमोदन नभए गठबन्धन तोडिने’ जनाएको भन्दै समाचार सामाग्री प्रस्तुत गरेका थिए ।

‘कुनै भ्रममा नपरौं, प्रमले एमसीसीसँगको सँझौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन । आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन,’ माओवादी नेता श्रेष्ठले उतिखेरै खण्डन गरेका थिए, ‘गठबन्धनमा एमसीसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्नेकुरा पनि सत्य होइन । कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन ।’

अहिले, सक्तारुढ दलहरुमध्ये सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसीलाई अहिलेकै अवस्थामा पास गर्नुपर्ने अडानमा छ । माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा संशोधन गरेर मात्र एमसीसी पास गर्नुपर्ने अडानमा छन् ।

एमसीसीलाई लिएर सत्तारुढ दलहरु दुई कित्तामा बाँडीरहेका बेला देउवा र प्रचण्डले संयुक्त रुपमा एमसीसी अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएको थियो । पत्रले एमसीसीलाई लिएर प्रचण्डले खेल्दै आएको दोहोरो चरित्र उदाङ्गियो ।

प्रधानमन्त्री देउवाले यसअघि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी एमसीसीका विषयमा छलफल गरिसकेका छन् । एमाले अध्यक्ष ओलीले सरकारले संसदमा एमसीसी टेवल गरेपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने बताउँदै आएका छन् ।

यसैबीचमा यही माघ २३ गते आइतबार देउवा र प्रचण्डको पत्र सार्वजनिक भएपछि शीर्ष दलका नेताहरुको दौडधुप बढेको छ । देउवाले एमसीसी अनुमोदन गर्न माओवादी लगायतका दलले सहयोग नगरे गठबन्धन भत्काएर पनि अघि बढ्ने संकेत गरिसकेका छन् । उनकै पार्टीका नेताहरुले देउवालाई यस्तो गर्न दबाब दिइरहेका छन् ।

पत्र सार्वजनिक भएकै दिन माघ २३ गते देउवाले बालुवाटारमा ओली र प्रचण्डलाई बोलाई छलफल गरेका थिए । छलफलमा प्रचण्डले अहिलेकै अवस्थामा एमसीसी अनुमोदन गर्न नसकिने धारणा राखेका थिए भने ओलीले सरकारको औपचारिक धारणा सार्वजनिक भएपछि एमालेले आफ्नो धारणा राख्ने बताएका थिए ।

देउवा गठबन्धन तोडेर भनेपनि एमसीसी अघि बढाउने मुडमा रहेको बुझेपछि नेपाली कांग्रेसका नेता शेखर कोइराला माघ २५ गते एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

गठबन्धन तोडेर अघि बढ्न देउवालाई सल्लाह दिंदै आएका कोइरालाले ओली एमसीसीको वहानमा कांग्रेस भित्र खेल्न खोजेका हुन वा होइनन् भन्ने बुझ्न चाहेका थिए । स्रोतका अनुसार भेटमा ओलीले एमसीसीको वहानमा कांग्रेसभित्र आफूले खेल्न नचाहेको स्पष्ट पारेका थिए ।

एमसीसीलाई लिएर बुधबार अर्थात् माघ २६ गते प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको थियो । भेटवार्तामा उनीहरुले एमसीसी मुद्दामा साझा धारणा बनाएका थिए ।

साझा धारणा बनाएर प्रचण्ड र नेपालले बिहीबार (आज) बालुवाटार पुगी प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । भेटमा प्रचण्ड र नेपालले अहिलेकै अवस्थामा अर्थात संशोधन नगरी एमसीसी संसदबाट अनुमोदन गर्न नसकिने अडान राखेका थिए ।

यसैबीचमा माघ २६ गते राखिएको प्रतिनिधिसभाको बैठक एक साता पर सारिएको थियो । देउवा संसदमा एमसीसी टेवल गर्ने पक्षमा थिए । सभामुख अग्नीप्रसाद सापकोटाले एमसीसी मुद्दामा आफ्नो पूर्व दल माओवादीलाई साथ दिंदै आएका छन् जसले गर्दा उनको आलोचना पनि भइरहेको छ ।

सापकोटाको भूमिकालाई लिएर एमाले मात्र होइन पछिल्ला दिनहरुमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसका नेता पनि असन्तुष्ट बनेका छन् । कांग्रेसका नेताहरुले सभामुख सापकोटालाई हटाएर भएपनि एमसीसी अघि बढाउनुपर्ने दबाब सरकारलाई दिइरहेका छन् ।

बिहीबार नै प्रचण्ड र नेपालले प्रधानमन्त्री देउवालाई भेटिपछि कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसेको थियो । बैठकमा एमसीसी र गठबन्धनका विषयमा छलफल भएको थियो । बैठकमा डा. रामशरण महतले एमसीसी असाध्यै राम्रो भएको भन्दै ब्रिफिङ गरेका थिए । त्यसपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले आफूलाई बोलेको कुरा लेखेर दिन महतसँग आग्रह गरेका थिए ।

‘बैठकमा एसीसी अनुमोदन गर्न गठबन्धन तोड्नु परे पनि तोडेर अघि बढ्नु पर्ने कुरा उठेको छ,’ कांग्रेस नेता डा. शशांक कोइरालाले भने ।

पछिल्ला घटनाक्रमले देउवा तत्काल संसदबाट एमसीसी अनुमोदन गर्नुपर्ने कुरामा प्रष्ट रहेको देखाएको छ । यसको लागि गठबन्धन तोडेर पनि अघि बढ्न उनले चाहेका छन् । सत्तारुढ गठबन्धनमा रहेका माओवादी, एकीकृत समाजवादी भने गठबन्धन तोड्ने पक्षमा छैनन् । तर उनीहरु हालकै अवस्थामा एमसीसी अनुमोदन गर्ने पक्षमा पनि छैनन् ।

यी सबै घटनाक्रमले एमालेलाई निर्णायक बनाएको छ । देउवाले गठबन्धन तोडेर अघि बढ्न चाहे एमालेको विश्वास जित्न आवश्यक छ । गठबन्धन जोगाउने हो भने माओवादी, एकीकृत समाजवादी लगायतका दलको साथ लिई एमसीसी सम्झौता संशोधन गर्नुपर्ने देखिन्छ । तर यो त्यति सहज हुनेछैन किनकी उनले अमेरिकालाई एमसीसी पास गर्ने भनि आफैले दिएको मिति नजिकिदै छ । फेब्रुअरी महिना भित्र एमसीसी पास गरिसक्नु पर्नेछ ।