एमसीसीबारे कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा के भयो छलफल ?

एमसीसीबारे कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा के भयो छलफल ?



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा एमसीसी र स्थानीय तहको निर्वाचन लगायत विषयमा छलफल भएको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा एमसीसीलाई कसरी संसदमा टेबुल गर्ने भन्ने विषयमा छलफल भएको छ ।

‘बैठकले एमसीसीको बारेमा छलफल गरेको छ । एमसीसी पारित गर्नुपर्छ भन्नेमा हामी प्रस्ट छौं । सभामुखको काम सरकारले पठाएका विधेयक सदनमा टेबुल गर्ने हो, त्यहाँ छलफल गराउने हो । एमसीसी पनि रोक्न पाउनुहुन्न,’ उनले भने ।

“सरकारको तर्फबाट पेस भएका विधेयकहरू छलफल संसद्मा गर्नुपर्छ । महत्वपूर्ण प्रस्तावहरू अन्य प्रस्तावहरू आउँछ त्यो विशेष सदनमा प्रवेश गराइदिने । उहाँले यो प्रवेश गराउँछु, यो गराउन्न भन्न उहाँले मिल्दैन । यो विषय उहाँले प्रवेश गराउनुपर्छ,” उनले भने ।

उनले कांग्रेसले एमसीसी बारेको भ्रम जनतामाझ गएर चिर्ने बताएका छन् । यसका साथै बैठकमा स्थानीय तह निर्वाचनमा कसरी जाने भन्ने विषयमा समेत छलफल भएको छ ।

पदावधि सकिएकाले भ्रातृ संगठनको महाधिवेशनका सम्बन्धनमा कुनै टुंगोमा पुग्न नसकिएको उनले बताए । प्रवक्ता महतले पुन: शुक्रबार दिउँसो २ बजे बैठकले निरन्तरता पाउने बताएका छन् ।