नम्रता श्रेष्ठको कथामा ‘वरदान’

नम्रता श्रेष्ठको कथामा ‘वरदान’



काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको सर्ट फिल्म ‘वरदान’ रिलिज भएको छ । निर्देशक दीपेन्द्र लामाको लेखन र निर्देशन रहेको फिल्म गज्जब टिभी युट्युब च्यानलबाट रिलिज भएको हो । शुभ मिडिया होमले निर्माण गरेको फिल्म २४ मिनेट अवधिको छ ।

२०७६ सालको ‘जायरा’पछि नम्रताले अभिनय गरेको यही पहिलो फिल्म हो । ‘डिप्रेसनबाट गुज्रिरहेका र आत्महत्याको जोखिममा रहेकाहरुलाई परामर्श दिने काममा म बेलाबखत सहभागी हुँदै आएको छु,’ नम्रताले भनिन्, ‘समस्यासँग जुधिरहेका मानिस र उनीहरुका अभिभावक तथा साथीभाइहरूलाई सजग गराउन यस्ता फिल्मले धेरै योगदान दिनसक्छ ।’

फिल्मले आत्महत्या रोकथामको विषयलाई उठाउँदै मानसिक स्वास्थ्यको संवेदनशीलतालाई सबैले ध्यान दिनुपर्ने विषय उठान गरेको छ । निर्देशक लामाले कोभिड-१९ पछि भएका लकडाउनले नेपालमा आत्महत्या बढेको समाचार पढेपछि आफूलाई ‘वरदान’को कथा लेख्न प्रेरित गरेको बताए । ‘अत्महत्या रोकथाममाथि विदेशमा अनगिन्ती सर्ट फिल्म बनेका रहेछन् । नेपालमा पनि यो जरुरी छ भन्ने लाग्यो । र, वरदानको कामलाई अगाडि बढाएँ,’ उनले भने ।

लकडाउनको बेला म्युजिक भिडियोमा छाएका दयाहाङले यो सर्ट फिल्ममा अभिनय गर्दा फरक अनुभव प्राप्त भएको सुनाए । फिल्ममा शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन छ ।

फिल्ममा लुनिभा तुलाधर, प्रवीण खतिवडा, जयनन्द लामा, पुष्कर गुरुङ, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनको पनि अभिनय छ ।