के होला कमल थापाको पार्टीको चुनाव चिह्न ?

के होला कमल थापाको पार्टीको चुनाव चिह्न ?



काठमाडौं । हिन्दुवादी नेता कमल थापाले दर्ता गर्न लागेको पार्टीको नाम ‘राष्ट्रिय एकता पार्टी’ रहने चर्चाबीच उक्त पार्टीको चुनाव चिह्नबारे पनि छलफल हुन थालेको छ । चुनाव चिह्नको रूपमा हात्ती, तीन आँखा, कमलको फूल चर्चामा छन् । एक नेताका अनुसार हात्ती र तीन आँखामध्ये एउटा चुनाव चिह्न राखिने सम्भावना बढी छ । महादेवको त्रिनेत्र हुने अर्थमा तीन आँखा र गणेशसँग धार्मिक अर्थ जोडिएकाले हात्ती चिह्न छलफलमा आएको ती नेताले बताए ।

हिन्दुवादलाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अघि सार्ने तयारीमा रहेका थापाले उक्त दर्शनलाई कुनै न कुनै प्रकारले प्रतिनिधित्व गर्ने चुनाव चिह्न चाहेका छन् ।

यसअघि राप्रपामा हुँदा थापा चुनाव चिह्न ‘गाई’को पक्षपाती थिए । पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त) सँग राप्रपाको एकीकरण हुँदा ‘हलो’ चुनाव चिह्न हुँदा थापा दुःखी भएका थिए ।